मौद्रिक नीतिले उचालेको साताको शेयर: १३८ अंकले नेप्से परिसूचक बढ्दा कारोबार रकम ५६ अर्ब माथि 


काठमाडौं – यो साताको शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव देखियो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को  मौद्रिक नीति सार्वजनिक गर्दै शेयर बजारमैत्री नीति लिएसँगै शेयर बजारमा उल्लेखनीय सुधार आएको हो। यससँगै मौद्रिक नीतिपछिको पहिलो साताको शेयर बजार हरियाली छाएर बन्द भएको छ । 

समग्रमा यो साता  शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज  (नेप्से) मा १ सय ३८ दशमलव ८२ अंकको वृद्धि देखियो। यो साताभरि शेयर बजारमा ५६ अर्बभन्दा माथिको कारोबार भयो । सातामा ५ दिन कारोबार हुँदा सोमबार बाहेक अन्य ४ दिन नेप्से दोहोरो अंकले बढ्यो ।

यो साताको पहिलो कारोबारको दिन आइतबार नेप्से  २९ अंकले बढेसँगै ११ अर्ब रुपैयाँ माथिको कारोबार भयो । यस्तै, सोमबार भने शेयर बजारमा करेक्सन देखियो । त्यसदिन नेप्सेमा ३५ दशमलव ९ अंकको गिरावट देखियो । सोमबार  ७ अर्ब ९२ करोड रुपैयाँ माथिको कारोबार भयो । 

दोस्रो दिन घटेको बजार तेस्रो कारोबारको दिन भने दोहोरो अंकले बढ्यो। त्यसदिन ८ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो। यस्तै, नेप्से बुधबार ३४ दशमलव ६१ अंक र बिहीबार ७५ दशमलव ८४ अंकले बढ्यो । ती दिन क्रमशः १३ अर्ब ५७ करोड रुपैयाँ,  १६ अर्बभन्दा माथिको कारोबार भयो ।