काठमाडौं – आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस आर्थिक वर्ष २०८१/८२ मा शेयर बजारमा उत्साहजनक कारोबारका भएको हो । यससँगै शेयर बजारका अन्य परिसूचकमा समेत उल्लेख्य सुधार आएको छ ।
आव २०८०/८१ को तथ्यांक अनुसार शेयर बजारमा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्रको कारोबार भएको थियो । यससँगै आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यी दुई आवको तथ्यांक हेर्दा कारोबार रकम आव २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी रहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् । यसअगाडि आव २०७७/७८ मा सबैभन्दा धेरै रकम (१४ खर्ब ५४ अर्ब ४४ करोड रूपैयाँ) को कारोबार भएको थियो ।
यसैगरी आव २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो ।
आव २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएको पराजुलीले बताए।
प्रथम निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता शेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता शेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता शेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।



About Us
प्रतिक्रिया