कास्कीमा वित्तीय अपराधमा संलग्न ५७ फरार प्रतिवादी पक्राउ, २ करोडभन्दा बढी जरिवाना असुली 


काठमाडौं –  एक महिनामा ६८ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । सम्मानित अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६८ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा ४४ जना पुरुष र २४ जना महिला रहेका छन् । पक्राउ पर्नेहरू ६८ जनामा आर्थिक तथा वित्तीय अपराधमा संलग्न ५७ जना रहेका छन् ।  उनीहरूबाट ४ वर्ष ७ महिना १६ दिन कैद सजाय र २ करोड ७ लाख १९ हजार जरिवाना असुल गर्नको लागि सम्मानित अदालतमा उपस्थित गराइएको प्रहरीले बताएको हो । पक्राउ पर्नेहरू सबैभन्दा बढी चेक अनादर कसुरमा रहको छन् ।

चेक अनादर कसुरमा ४८ जना व्यक्तिहरू पक्राउ परेका थिए । त्यस्तै, वन अतिक्रमण सम्बन्धी कसुरमा २ जना, बैंकिङ्ग कसुर मुद्दामा ४ जना, केही सार्वजनिक कसुरमा ३ जना, लागू औषध सम्बन्धी कसुरमा– २ जना,  चोरी सम्बन्धी कसुरमा – ४ जना,  अभद्र व्यवहार सम्बन्धी कसुरमा – २ जना, लेनदेन सम्बन्धी कसुरमा– १ जना,  वाल यौन दुरुपयोग कसुरमा– १ जना, र बैनापट्टा सम्बन्धी कसुरमा १ जना  पक्राउ परेका थिए ।