बैंकहरुको मुद्दति निक्षेपमा ५७ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ५७ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि साउन २ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४५ करोड ६० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ५५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ८५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

राष्ट्र बैंकका अनुसार ६ साउन २०८२ देखि ६ साउन २०८३ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको हो । रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले साउन ४ गते बिहान १० देखि दिउँसो १ः३० बजेभित्र आवेदन दिनुपर्ने छ ।