निजी क्षेत्रले ऊर्जा उत्पादनमा गरेको योगदानका कारण मुलुकले लोडसेडीङको समस्या भोग्नु परेको छैनः सभापति देउवा


काठमाडौं – नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रले जलविद्युत उत्पादनमा गरेको प्रगति र उपलब्धि प्रशंसनीय रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले ऊर्जा उत्पादनमा गरेको योगदानका कारण अहिले मुलुकले लोडसेडीङको समस्या भोग्नु नपरेको बताएका हुन् ।

उनले भने,‘नेपाली कांग्रेस जलविद्युत उत्पादनमा पनि निजी क्षेत्रको लगानी आवस्यक छ भन्ने पक्षमा सुरुदेखिनै छ। नेपाली कांग्रेसको सरकारले तत्कालिन कांग्रेस नेतृ शैलजा आचार्य उपप्रधान एवं जलस्रोत मन्त्री भएका बेला जलबिद्युत उत्पादनमा निजि क्षेत्रको लगानी खुला गर्नु भएको तपाईहरु सबैलाई थाहा नै छ। त्यही नीतिकै कारण आज निजि जलविद्युत उत्पादनमा झण्डै ८० प्रतिशत हिस्सा ओगट्दै अर्बौं लगानी गर्ने वातावरण बनेको हो।’

देउवाले थपे,’ तपाईँहरुले शेयर निष्काशनमा ढिलाई, विद्युत खरिद सम्झौता (पीपीए) नभएको, राष्ट्रिय निकुञ्जभित्र आयोजना निर्माण गर्न नपाएको, समयमै प्रसारण लाइन नबन्दा बिजुली खेर गएको, वन मन्त्रालय सरकारी निकायहरुमा प्रक्रियागत झन्झट रहेको र लामो समय लाग्ने गरेको लगायतका थुप्रै समस्याहरु उठाउनुभएको छ।’

देशमै बसेर लगानी गर्छु भनेर लाग्नुभएका तपाईहरुलाई यस्तो कुरामा सरकारले सहजीकरण गर्ने हो, दुःख दिने होइन। मुलुकलाई अहिले निजी क्षेत्रको लगानीको खाँचो छ। निजी क्षेत्रको लगानीविना देशको विकास सम्भव हुँदैन र देशले आर्थिक समृद्धि हासिल गर्न पनि सक्दैन भन्नेमा हामी पूर्ण विश्वास गछौं।नेपालले आर्थिक तथा सामाजिक विकासमा अहिलेसम्म प्राप्त गरेको उपलब्धिको पछाडी देशले अघि बढाएको उदारवाद र निजीकरणको नीति हो भन्नेमा दुई मत छैन। यसको कार्यान्वयनको क्रममा भएका कमीकमजोरी अन्त्य गरेर निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको उलने भने । विद्युत उत्पादन बढ्दै जानु खुशीको कुरा हो। आज देशभित्र लोडसेडिङ छैन। छिमेकी मुलुकहरुसँग विद्युत व्यापार पनि सुरु भएको छ। अझै स्वदेशभित्र धेरै उद्योग व्यवसाय सञ्चालन गरेर बढीभन्दा बढी बिजुली खपत गराउनुपर्ने उनले बताए ।