काडमाडौं – सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आर्थिक तथा वित्तीय क्षेत्रमा नयाँ तरिकाबाट आर्थिक अपराध हुन थालेका छन् । आधुनिक प्रविधिको विकास सँगै पछिल्लो समयमा अपराध गर्न शैलीमा पनि तीव्र गतिले विकास हुँदै गइरहेको छ । प्रविधिमा आएका नयाँ विकासले गर्दा अपराधीहरू ठगी गर्न सहज भइरहेको अवस्था छ । जसले गर्दा आर्थिक तथा वित्तीय अपराधका घटनाहरूको संख्यामा पनि वृद्धि हुँदै गइरहेका छन् । साथै, अपराध गर्ने नयाँ तरिकाहरूको सिर्जना हुने क्रम बढ्दै छ।
प्रविधिको विकास हुनु अघि अपराध गर्नका लागि अपराधी स्वयं उपस्थित भई अपराध गर्नु पर्थ्यो । तर, प्रविधिमा आएको विकासले ठगी तथा चोरी गर्ने अपराधी उपस्थित हुनु पर्दैन । ठगी गर्ने शैली नै बद्लिसकेको अवस्था छ । प्रविधिको माध्यमबाट एक ठाउँमा बसेर अर्को ठाउँमा ठगी गर्ने गर्छन् । जसले गर्दा आर्थिक अपराधका घटनाहरू झन् बढ्दै गएका छन् । त्यस्ता, किसिमका ठगीहरूमा सबै भन्दा बढी सुनिने शब्द हो फिसिङ । इन्टरनेटका माध्यमबाट हुने एक किसिमको ठगीको प्रयास नै फिसिङ हो ।
ह्याकर वैध कम्पनीको नक्कली इमेल पठाउने, बैंक तथा सरकारी संस्थाहरूको नक्कली वेबसाइटहरू बनाउने, मोबाइलमा ओटिपि तथा यो लिङ्कमा क्लिक गर्नु भन्दै ‘एसएमएस’ गर्ने, विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी भन्दै कल गर्ने जस्ता गतिविधि गरी सर्वसाधारणको खाता ह्याक गर्ने गर्छन् । जसले गर्दा सर्वसाधारणको बैंकको पैसा हराउने, सामाजिक सञ्जाल ह्याक हुने, गोप्य पहिचान खुल्ने जस्ता प्रक्रियाहरूले हुने गर्छन् ।
ह्याकरले आफूलाई कुनै पनि विश्वासिलो संस्थाको व्यक्ति जस्तो देखाएर प्रयोगकर्ताको गोप्य जनाकारी लिने गर्छ । सर्वसाधारणहरूलाई एसएमएस मार्फत फिसिङ लिंक पठाई खाता ‘सस्पेन्ड’ हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि भन्दै लिंक खोल्न लगाउने अनि उसको सम्पूर्ण विवरण र रकम आफ्ना खातामा ट्रान्सफर गर्ने गरेको घटना प्रहरीमा पछिल्ला दिनहरूमा बढ्दै गइरहेको प्रहरीको तथ्यले देखाएको छ ।
त्यस्ता घटनाहरूमा शिक्षित वर्गहरू नै फस्ने गरेको प्रहरीहरू बताउँछन् । आपराधिक घटनाहरूको अनुसन्धान गर्न पक्रिया फितलो भएकाले फिसिङ लिंक निर्माण गर्न व्यक्ति प्रहरीले आफ्नो हातमा पर्न नै सकेको छैन । साइबर ब्युरोले फिसिङ लिंकबाट हुने घटनाहरूमा कमी ल्याउनका लागि चिट्ठा पर्यो, सस्तो फ्लाट, आकर्षक जागिर, अनलाइन सर्पिङ, मेरो उत्तराधिकारी बनिदिनु जस्ता एसएमएसको लिंकमा क्लिक नगर्ने विभिन्न सामाजिक सञ्जालका माध्यमबाट आग्रह समेत गर्दै आइरहेको छ । तर, पनि गत ५ महिनाबाट साइबर ब्युरोमा यस्ता फिसिङ लिंकका घटनाका उजुरी झन् बढ्दो क्रममा आइरहेको साइबर ब्युरोका प्रवक्ता दिपक राज अवस्थी बताउँछन् ।
उनका अनुसार देश भित्रबाट भन्दा पनि देश बाहिरबाट यस्ता घटना घट्ने भएकाले प्रहरीलाई अनुसन्धानमा असहज हुने गरेको छ । जसले गर्दा यस्ता अपराधका मुख्य योजनाकार सम्म आफूहरू पुग्न नसक्ने गरेको उनले बताए । कारोबार गरेपछि जुन खातामा रकम जाने गर्छ, यही कारोबारको आधारमा नै ब्युरोले अनुसन्धान गर्ने गरिएको उनले बताए । फिसिङ लिंकको बनावट विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने उद्देश्यले बनाइने गरिने भएकाले यसका प्रकार धेरै प्रकारका हुने गरेको अवस्थीले बताए ।
गोप्यरुपमा ठगी गर्ने प्रविधिहरूको तीव्र विकासले प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय सहकार्यबाट मुलुक बाहिरबाट फिसिङको प्रयोग हुने भएकाले प्रहरीलाई मुख्य व्यक्तिसम्म पुग्न समस्या भएको उनले बताए । उनका अनुसार बाहिरबाट यस्तो घटनामा सहयोग प्राप्त भएको अवस्थामा अपराधलाई पक्राउ गर्न सकिन्छ ।
आर्थिक वर्ष (आव) २०७८/२०७९ सम्ममा फिसिङ लिंककामार्फत ठगी हुनेको उजुरी प्रहरीमा नआएको प्रहरीले जनाएको छ । आव २०७९/२०८० पछि फिसिङबाट हुने ठगीका घटनाहरू बढ्न थालेको देख्न सकिन्छ । प्रहरीको तथ्यांक अनुसार उक्त आवमा प्रहरीमा १ वटा उजुरी दर्ता भएको थियो । जसमा ८ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट ४७ लाख ६७ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, आव २०८०/२०८१ मा प्रहरीमा एउटा मुद्दा दर्ता भएको थियो । यस क्रममा प्रहरीले एक जना विदेशीलाई पक्राउ गरेको थियो भने चालु आव २०८१/२०८२ को चैत्र सम्ममा फिसिङ लिंकबाट ठगिएको आरोपमा प्रहरी ९ वटा उजुरी परेको थियो । जसबाट प्रहरीले १४ लाख १५ हजार रुपैयाँ बरामद गरी सकेको छ ।






About Us
प्रतिक्रिया