बजार प्रवर्द्धनमा लगानी गर्छौं : मुख्यमन्त्री

बजार प्रवर्द्धनमा लगानी गर्छौं : मुख्यमन्त्री


बैंकिङ समाचार,काठमाडौं । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्ने बताए। 

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औँ र महिला उद्यमी समिति मोरङको २०औँ साधारण सभामा बोल्दै उनलेले उत्पादित वस्तुको बजार प्रवद्र्धनमा सरकारले लगानी गर्ने बताए। 

प्रदेश सरकारले पहिलो चरणमा सम्भाव्यता अध्ययनलाई र दोस्रो चरणमा एकीकृत बिक्री केन्द्र स्थापनाका लागि सहयोग गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुको बिक्रीका लागि एकीकृत बिक्री केन्द्र स्थापनामा लगानी गरिने बताए । “गुणस्तरीय वस्तु राम्रो प्याकेजिङमा राखेर ब्रान्ड बनाउन सके बजार प्रशस्त छ,” उनले भने, “यसका लागि घरेलु उत्पादन बिक्री गर्ने बजार प्रबन्धमा सरकारले लगानी गर्नेछ ।” 

जनशक्ति निर्यात गरेर आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड नदिएका कारण नेपालको आर्थिक स्थिति कमजोर बन्दै गएको उनले बताए । बैंक मुनाफामुखी हुने नीतिका कारण उद्योगहरूको अवस्था कमजोर बन्दै गएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । रेमिट्यान्स बढ्नु र विदेशी मुद्राको सञ्चिति बढ्नुले केही सकारात्मक सन्देश दिए पनि संघीय सरकारले ल्याउने आगामी बजेट औद्योगिक प्रवद्र्धन केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । 

राष्ट्रिय पुँजीको विकासका लागि घरेलु तथा साना उद्योगको महत्व बढाउन आवश्यक रहेको बताउँदै मुख्यमन्त्री कार्कीले ८ प्रतिशतमा लिएको ऋणको १६ प्रतिशत ब्याजदर कायम गर्ने बैंक माथि अङ्कुश लगाउन आवश्यक रहेको बताए  । व्यापार घाटा बर्सेनि बढाएर नेपाली अर्थतन्त्र टिक्न नसक्ने बताउँदै मुख्यमन्त्री कार्कीले जनमुखी नीति र बजेट जरुरी परेको बताए । 

उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले साना तथा घरेलु उद्योगको संरक्षणमा सरकार सकारात्मक रहेको बताए । उनले घरेलु तथा साना उद्योगको अध्ययन गरेर उत्पादन, रोजगारी, कारोबारलगायतका विषयको प्रतिवेदन तयार गरी प्रदेश सरकारले सौगात केन्द्र स्थापना गर्ने बताए । उनले एउटै छानामुनि घरेलु उद्योगका उत्पादन पाइन्छ भन्ने सन्देश दिन सके खरिद कर्ता आउने र वस्तु बिक्री हुने बताए। महासंघले संरचना तयार पार्ने जग्गा व्यवस्थापन गर्न सके प्रदेश सरकारले लगानी गर्ने उनको दाबी थियो । 

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले मोरङमा चार हजार एक सयको सङ्ख्यामा लघु घरेलु तथा साना उद्योग रहेको जानकारी दिए । उनले जिल्लाका १७ पालिकामध्ये आठमा पालिकास्तरको समिति विस्तार भएको र पाँचवटा वस्तुगत सङ्घ रहेको बताए। महिला उद्यमी समितिका अध्यक्ष सुनिता छाराहाङले घरेलु तथा साना उद्योगमा महिलाको उल्लेख्य सहभागिता रहे पनि राज्यले प्राथमिकता नदिँदा सञ्चालनमा समस्या रहेको बताए ।