काठमाडौं – बुङ्गल हाइड्रो लिमिटेडले आज (असार २९) गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले कुल जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पुँजी १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुटाइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात् सुदूर पश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७० र वडा नं. ७ -साविक कफल्सेरी गाविस वडा नं. १० का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात् बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरूका लागि बाँडफाँट गरिनेछ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुटाइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त, आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म सो आईपीओमा आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ११ गतेभित्र आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१ बझाङ्ग कृषि विकास बैंक, बुङ्गल नगरपालिका बझाङ्ग, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया