ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमा आजसम्म आवेदन दिन सकिने


काठमाडौं–ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशनमा ल्याएको सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

मागभन्दा बढी इकाईको लागि आवेदन भएकाले आज बैंकिङ्ग समय पश्चात् सो योजनाको इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको हो।

यो योजना बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष हो जसको अवधि १० वर्ष रहनेछ। जारी गरिने कुल इकाईमध्ये १५ प्रतिशत हिस्सा बीज पूँजीको रूपमा राखिएको छ। जसमध्ये १.५ प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल आफैंले लिनेछ भने बाँकी १३.५ प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई बीज पूँजीको रूपमा राखिनेछ।

बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।