चेक बाउन्स व्यवस्था कार्यान्वयनमा जुट्यो राष्ट्र बैंक, एकीकृत निर्देशन संशोधन


काठमाडौं – नेपाल राष्ट्र बैंकले चेक अनादरसम्बन्धी प्रक्रिया स्पष्ट पार्दै एकीकृत निर्देशन, २०८१ लाई संशोधन गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ कार्यविधिअनुसार, खातामा रकम मौज्दात नभएको वा अपर्याप्त भएको अवस्थामा चेक अनादर (बाउन्स) भएको प्रमाणित गर्न चेक धारकले निवेदन दिन सक्ने व्यवस्था गरेको छ।

बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ (दोस्रो संशोधन, २०८२) को दफा ३ क र राष्ट्र बैंक ऐन, २०५८ को दफा (१) अनुसार कार्यविधि निर्माण गरी लागू गरिएको हो। बैंक वा वित्तीय संस्थाले खातामा रकम नभएको वा अपर्याप्त भएको उल्लेख गरी चेक फिर्ता गर्नुपर्नेछ। यदि धारकले अनादर प्रमाणित गराउन चाहेमा चेक जारी गर्ने बैंक वा सहकारी बैंकमा सक्कल चेकसहित निवेदन दिनुपर्ने केन्द्रीय बैंकले जनाएकाे छ।

साथै, बैंकले खातावालालाई ४५ दिनको समय दिई मौज्दात सुनिश्चित गर्न सूचना दिनुपर्नेछ। सो समयसम्म पनि रकम अभावकै कारण चेक अनादर भएमा तीन दिनभित्र प्रमाणपत्र जारी गर्नुपर्नेछ। प्रमाणीकरणका लागि बैंकले धारकसँग कुनै शुल्क लिन नपाइने व्यवस्था छ। साथै, अनादर प्रमाणित भइसकेको चेकबाट भुक्तानी लिन नमिल्ने तर दुवै पक्षको सहमतिमा भुक्तानी गरी चेक फिर्ता लिन सकिने उल्लेख छ।

चेकको म्यादभित्र पहिलो पटक पेस हुँदा पनि मौज्दात अभावमा चेक फिर्ता भएमा प्रक्रिया पूरा गरी प्रमाणित गर्नुपर्नेछ। यसरी चेक फिर्ता हुने अन्य कारण (जस्तै खाता रोक्का, गलत हस्ताक्षर आदि) भए पनि यदि रकम मौज्दात पर्याप्त छैन भन्ने प्रमाणित भएमा सोही अनुरूप प्रमाणपत्र जारी गर्नुपर्ने व्यवस्था छ।