वित्तीय अनुशासनको पालना गर्दै सुरक्षित आर्थिक भविष्य निर्माण गर्न राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासनको पालना गर्दै सुरक्षित आर्थिक भविष्य निर्माण गर्न आग्रह गरेको छ । बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै वित्तीय अनुशासन पालना गर्न भनेको हो ।

केन्द्रीय बैंकले आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समयमा वा आकस्मिक अन्य कुनै कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्ने बताएको छ । यसले अनावश्यक खर्च गर्नबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी तनावसमेत कम गर्ने धारणा समेत व्यक्त गरेको छ ।

राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘त्यसैले आफ्नो आम्दानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऔं, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा निरन्तर बचत गरौं, आवश्यक भएमा मात्र ऋण लिऔं र लिएको ऋणको सदुपयोग गरी समयमै तिर्ने बानीको विकास गरौं ।’