पछिल्लो डेढ वा दुई वर्षयता हरेक दिन राष्ट्र बैंकले आज यति अर्ब तान्दै भन्ने समाचारको हेडलाइन सुन्नुभएकै होला । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता थुप्रिएपछि राष्ट्र बैंकले त्यसलाई सन्तुलन मिलाउन सो अवधियता हरेक दिनहुँ जसो ठुलो मात्रामा रकम तान्दै आइरहेको छ ।
तपाईँलाई कहिलेकाहीँ लाग्न सक्छ राष्ट्र बैंकले किन हरेक दिनहुँ जसो अर्बौं रकम तान्छ । र, त्यसरी तानेको रकम के गर्छ वा कहाँ लगानी गर्छ रु सरल भाषामा भन्नुपर्दा यो प्रक्रिया आश्चर्यको विषय होइन । बरु देशको अर्थतन्त्रसँग जोडिएको महत्त्वपूर्ण प्रक्रिया हो, जसले अर्थतन्त्रलाई चलायमान बनाउन र मजबुत बनाउन सहयोगी भूमिका खेलिरहेको हुन्छ ।
हो, आजको यो भिडियोमा हामी माथि उठेका यी नै विषयहरूको प्रश्नको जवाफ दिने प्रयत्न गर्छौं । यो विषय प्रवेश गर्नुअघि हामीले तरलता बुझ्नुपर्छ । सामान्य भाषामा बैंक तथा वित्तीय संस्थामा रहेको नगद उपलब्धताको अवस्थालाई तरलता भनिन्छ । हाल ऋणीहरूले ऋणको माग नगर्दा बैंकिङ्ग क्षेत्रमा तरलता बढी छ । यसको मतलब बैंकहरुसँग लगानी गर्न सक्ने पैसा धेरै छ ।
जुन पैसालाई व्यवस्थापन गर्ने काम राष्ट्र बैंकको हुन्छ । यहिक्रमलाई निरन्तरता दिन केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्रबाट पैसा तान्छ । जसलाई तरलता प्रशोचन भनिन्छ । राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत प्रशोचन गर्दै आएको छ । केन्द्रीय बैंकले तरलता प्रशोचनका लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन जस्ता उपकरण र ऋणपत्रको प्रयोग गर्ने गर्छ ।
पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा भएको अत्यधिक तरलता खिच्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरिरहेको छ । बोलकबोल माध्यम र निक्षेप संकलन दरमा पनि राष्ट्र बैंकले तरलता प्रशोचन गर्छ । राष्ट्र बैंकले प्रयोगमा ल्याएको निक्षेप संकलन बोलकबोल उपकरणको बढी प्रयोग हुने गरेको छ ।
यति बुझिसकेपछि तपाईँलाई लाग्न सक्छ राष्ट्र बैंक पैसा किन तान्छ रु यसको उत्तर पनि यहीँ भिडियोमा छ । राष्ट्र बैंक तरलता खिच्नुको कारण विभिन्न आर्थिक, वित्तीय र बजार स्थितिहरूसँग सम्बन्धित हुन्छ । सामान्यतया केन्द्रीय बैंकले मनी सप्लाइलाई नियन्त्रण गर्ने, मुद्रास्फीतिलाई नियन्त्रण गर्ने र वित्तीय प्रणालीमा स्थिरता ल्याउने उद्देश्यले बजारमा भएको तरलता प्रशोचन गर्ने गर्दछ । यस्तै, ब्याजदर नियन्त्रण, विदेशी विनिमय दर नियन्त्रण र बैंकिङ्ग क्षेत्र सुधार गर्न बजारबाट केन्द्रीय बैंकले पैसा तान्ने गर्छ।
नेपाल राष्ट्र बैंकले यसरी बजारबाट उठाएको पैसा कुनै पनि क्षेत्रमा लगानी गर्दैन । यो पैसालाई केन्द्रीय बैंकको भल्टमा राखिन्छ। सामान्यतया ७, १४ र २१ दिनका लागि बजारबाट पैसा तान्ने गरे पनि हाल भने केन्द्रीय बैंकले ६३ दिनसम्मका लागि निक्षेप तान्दै आइरहेको छ । केन्द्रीय बैंकले बजारबाट पैसा तानेर अन्यत्र लगानी भने गर्दैन । सोही कारण, बजारबाट दैनिकरुपमा रकम तान्नुको मुख्य उद्देश्य – ब्याजदर नियन्त्रण, ‘मनि सप्लाई’, मुद्रास्फीति नियन्त्रण र वित्तीय प्रणालीमा स्थिरता ल्याउनु नै हो ।






About Us
प्रतिक्रिया