काठमाडौं – माबिलुङ्ग इनर्जी लिमिटेडले आजदेखि (असार २२) आईपीओ निष्कासन खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले कुल जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमा ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
सो शेयर सङ्खुवासभा जिल्लाको मादि नगरपालिका वडा नं.७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि खुला गरिएको हो । यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्नेछ ।
उक्त आईपीओमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले उक्त शेयरमा छिटोमा साउन ४ र ढिलोमा साउन १९ गतेभित्र आवेदन दिन सक्नेछन् । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक, चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक, खाँदबारी र आयोजनाको पावरहाउस रहेको सङ्खुवासभा जिल्ला, मादि नगरपालिका वडा नं.७ बाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया