नेपाल एसबीआई बैंकले असार ३० गतेबाट ३ अर्बको ऋणपत्र जारी गर्दै 


काठमाडौं – नेपाल एसबीआई बैंकले असार ३० गतेबाट ३ अर्ब रुपैयाँ बराबरको १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गर्न लागेको हो। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ।

बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्ने जनाएको छ । लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।

यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा साउन १ गते हुनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि साउन १२ गतेसम्म लम्बिने छ । यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् । ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग रहेको छ।