कर्णाली विकास बैंक घोटाला प्रकरण: तत्कालीन अध्यक्ष मिश्र पक्राउ


काठमाडौं – कर्णाली विकास बैंकको रकम घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकको तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र रहेका छन् । उनलाई नेपालगन्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता युवराज खड्काले बैंकिङ्ग समाचारलाई बताए ।

मिश्र पहिला बैंकको सदस्य हुँदै अध्यक्ष पदसम्म पुगेका थिए। उनी २०६६ सालमा बैंकको अध्यक्ष भएका थिए । उनले बैंककाे अध्यक्ष पदमा रहेर २५० करोडभन्दा बढी रकम हिनामिना गरेको खुल्न आएको छ । यस प्रकरणमा योभन्दा पहिला बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र सञ्चालक समितिकाे अध्यक्ष राजेन्द्र बहादुर राय पक्राउ परिसकेका छन्।

बैंकको रकम अपचलनमा पूर्व सीईओ दिनेश कुमार राउत, निरज विक्रम शाह र वित्त अधिकृत वेद प्रकाश ठकुरी समेत संलग्न रहेका खुल्न आएको थियो । मिश्र मधेश आन्दोलनबाट उदाएका नेता हुन्। उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं.२ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । त्यसपछि एमाले प्रवेश गरेका मिश्र हाल केन्द्रीय सदस्य हुन् ।

नेपाल राष्ट्र बैंकले केन्द्रीय अनुसन्धान ब्युरोलाई २०८१ माघ ४ गते यस प्रकरण अनुसन्धान गर्नका निम्ति अनुमति प्रदान गरेको थियो । यसपछि ब्युरोले हालसम्म ३ जनालाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए ।