काठमाडौं – ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् २०३० सम्ममा विश्वका सबैभन्दा कमजोर एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्छ । तीमध्ये एक तिहाइ साना बालबालिकाको मृत्यु हुनसक्ने एक अनुसन्धानले मङ्गलबार प्रक्षेपण गरेको छ । प्रतिष्ठित ल्यान्सेट जर्नलमा गरिएको यो अध्ययन यस हप्ता स्पेनमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनका लागि विश्व र व्यापारिक नेताहरू भेला हुँदा सङ्कटमा रहेका सहायता क्षेत्रलाई बलियो बनाउने आशामा प्रकाशित भएको थियो ।
अमेरिकी एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएआइडी–युएएड) ले जनवरीमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कनु अघिसम्म विश्वव्यापी मानवीय कोषको ४० प्रतिशतभन्दा बढी सहयोग गर्दै आएको थियो । दुई हप्तापछि ट्रम्पका तत्कालीन निकट सल्लाहकार र संसारका धनी व्यक्ति एलन मस्कले एजेन्सीलाई ‘काठ काट्ने मेसिनमा हालेको’ भनेर घमण्ड गरेका थिए ।
बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आइएसग्लोबल) का अनुसन्धानकर्ता एवं अध्ययनका सह–लेखक डेभिडे रसेलाले कोष कटौतीले ‘जोखिममा रहेका जनसङ्ख्याहरूको स्वास्थ्यमा दुई दशकको प्रगतिलाई अचानक रोक्ने र उल्ट्याउने जोखिम छ’ भनी चेतावनी दिए ।
‘धेरै निम्न र मध्यम आयका देशहरूका लागि यसको परिणामले हुने आघात विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वको मापदण्डसँग तुलना गर्न सकिन्छ’, उनले विज्ञप्तिमा भने । एक सय ३३ राष्ट्रको तथ्याङ्कलाई फर्केर हेर्दा अनुसन्धानकर्ताहरूको अन्तर्राष्ट्रिय टोलीले युएसएड कोषले सन् २००१ देखि २०२१ सम्म विकासशील देशहरूमा नौ करोड १८ लाखको मृत्यु रोकेको अनुमान गरेको छ । यो इतिहासको सबैभन्दा घातक द्वन्द्व दोस्रो विश्वयुद्धमा मर्ने अनुमानित सङ्ख्याभन्दा बढी हो ।






About Us
प्रतिक्रिया