असार २४ गतेदेखि हिम स्टार ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्दै 


काठमाडौं – हिम स्टार ऊर्जा कम्पनीले दोस्रो चरणको आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेको थियो। यससँगै कम्पनीले दोस्रो चरणमा असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।  

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ९३ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले कर्मचारीहरूलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा असार २७ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले सञ्चालन गरेको ५ मेगावाटको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २७।७ वर्ष बाँकी रहेको छ।

यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।