‘प्रहरी हौँ, अनुसन्धान गर्नुछ’ भन्दै ३ लाख ६४ हजार लुटपाट गर्ने दुई पक्राउ


विराटनगर – विराटनगर महानगरपालिका–१५ का २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा बचत गर्न लैजाँदै गरेको ३ लाख ६४ हजार रुपैयाँ लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ परेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सिटी सफारीमा यात्रा गरिरहेका तेलीलाई ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौँ, अनुसन्धान गर्नु छ’ भन्दै तीन जनाको समूहमा रहेका व्यक्तिले गत बुधवार बलपूर्वक स्कुटरमा चढाएर एकान्त स्थानमा लगेर रकम लुटपाट गरेका थिए।

लुटपाटमा संलग्न रहेका विराटनगर–८ का २४ को समिर हुसेन र विराटनगर–६ का २७ वर्षीय आशिफ अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले बताइन्।

विराटनगर–१३ रानीस्थित राईस मिल छेउबाट स्कुटर चढेर आएका तीन जनामध्ये दुई जनाले तेलीलाई विराटनगर–१४ जतुवामा पुर्‍याएर रकम लुटेको भन्दै खोजतलास गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरिएको उनले जानकारी दिइन्।

प्रहरीले लुटपाटमा प्रयोग गरिएको १४ प ३३३० नम्बरको स्कुटर समेत बरामद गरेको जनाइएको छ। उनीहरूविरुद्ध डाका गरेको कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान अघि बढाइएको जनाइएको छ।