गभर्नर पौडेलको सम्पत्ति : बैंकमा २७ लाख, कुन क्षेत्रमा कति लगानी ?


काठमडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर बनेपछि आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

पौडेलले आफ्नोसहित पत्नि प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गरेका छन् । पौडेलले सार्वजनिक गरेको विवरणमा उनकी पत्नीको नाममा ललितपुर महानगरपालिका वडा नम्बर ४ भैसेपाटीमा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ। सो घर १ करोड ५५ लाख रुपैयाँमा खरीद गरेको गभर्नरले बताएका छन् । त्यस्तै, उनकी पत्नी कै नाममा अर्को घरजग्गा नवलपरासीको गैंडाकोटमा छ। जसको मूल्य ६० लाख उल्लेख गरिएको छ।

त्यस्तै, गभर्नर पौडेलले विवरण सार्वजनिक गर्दै सुनका गहना करिब ४५ तोला र हिराका गहना करिब १५ लाख रुपैयाँको रहेको बताएका छन् । पौडेल र उनकी पत्नीको नाममा विभिन्न बैंकहरुमा २० लाख ६८ हजार रुपैयाँ बचत रहेको छ । पौडेलको बचत खाता सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको छ भने उनकी पत्नीको बचत खाता सानिमा र प्रभु बैंकमा रहेको छ । पौडेलको डलर खातामा ६६ अमेरिकी डलर बचत छ भने उनकी पत्नीको खातामा ४४ सय ४६ अमेरिकी डलर बचत रहेको छ ।

त्यस्तै, गभर्नरको पत्नीको नाममा एउटा सुजुकीको कार छ । जुन २०७७ साल भदौमा ४४ लाखमा खरीद गरेका थिए । गभर्नरले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनले शेयर बजारमा १४ करोड बराबरको लगानी गरेका छन् । उनले सानिमा बैंकमा, सानिमा माइ हाइड्रोपावर, सानिमा मिडल तमोर, इड्रोपावर ग्लोबेको, संयुक्त उर्जा हाइड्रोपावर र चितवन इनर्जि लिमिटेडमा सो रकम बराबरको शेयर खरीद गरेका छन् ।