कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा १२.३ प्रतिशतको वृद्धि


काठमाडौं – २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ३.०६ प्रतिशतले वृद्धि भई ४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले कोशी प्रदेशकाे अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२ सार्वजनिक गर्दै २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमा १२.३ प्रतिशतले वृद्धि भएको देखाएको हो।

पछिल्लो समय रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैंकिङ्ग सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको केन्द्रीय बैंकले जनाएकाे छ। प्रतिवेदनले २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा १०.२ प्रतिशतले कमी भई ५ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको देखाएकाे छ।

समिक्षा अवधिमा २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कुल कर्जा प्रवाहमा १.२ प्रतिशतले वृद्धि भएको छ।२०८१ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा ९.७ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २५.२ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६५.१ प्रतिशत रहेको छ। २०८१ पुस मसान्तमा यस प्रदेशमा कर्जा निक्षेप अनुपात ११९.० प्रतिशत रहेको छ । अघिल्लो आवको पुस मसान्तमा उक्त अनुपात १२१.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।