नेपाली भूमिमा आर्थिक अपराध गर्ने विदेशीको संख्या बढ्दै,‘चेक बाउन्स’मा धेरै संलग्न


काठमाडौं – आर्थिक अपराधमा विदेशी नागरिकहरूको संलग्नता अन्यत्रभन्दा बढी चेक बाउन्समा देखिएको छ । नेपाली भूमिका आएर आर्थिक अपराधमा संलग्न विदेशीहरूको संख्या बढ्दै जाँदा सबैभन्दा धेरै चेक बाउन्सका घटनामा संलग्न रहेको पाइएको हो । नेपाल प्रहरीका अनुसार विदेशी नागरिकहरू सबैभन्दा बढी चेक बाउन्सका घटनाहरूमा पक्राउ पर्ने गरेका छन्।

नेपाली नागरिकले जस्तै सम्पूर्ण क्षेत्रका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नपाएता पनि विदेशीहरूले नेपालमा खाता भने खोल्न पाउँछन् । यस्ता खाताहरूको माध्यमबाट नै विदेशी नागरिकहरूले खाताको दुरुपयोग गरिरहेको प्रहरीको तथ्याङ्कले देखाएको हो । विभिन्न बैंकिङ्ग संस्थाहरूको नामको चेकमा आफूसँग भएकोभन्दा बढी रकमको चेक काटेर सर्वसाधारणलाई ठग्ने गर्छन् । 

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार नेपालमा रहेका विदेशी नागरिकहरूले नेपालस्थित बैंक तथा वित्तीय संस्थामा परिवर्त्य विदेशी मुद्रा खाता खोल्न सक्छन् । यस्ता खाताहरू भिसा अवधिसम्म मात्र सञ्चालन गर्न सकिने उनले बताए । नेपालमा आएर यस्ता खाताहरू सञ्चालन गरेर भिसा अवधिसम्ममा आफ्नो खातामा रकम नै नहुँदा पनि भुक्तानी गर्न निकायहरूमा रकम नभएको चेक दिने गर्छन् ।

विदेशीहरूले झुटा आश्वासन दिएर उनीहरू बसेको स्थानमा र उनीहरूले दुरुपयोग गरेको स्रोत साधनको भुक्तानी पैसा नभएको बैंक तथा वित्तीय संस्थाको चेकमार्फत गरी नेपालका सर्वसाधारण व्यक्तिहरू माथि ठगी गरेका घटनाहरू पछिल्लो समयमा बढिरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकले विदेशी नागरिकलाई बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा व्यक्तिको पुरा नाम, राष्ट्रियता, विदेशको ठेगाना र अस्थायी ठेगाना, नेपालको ठेगाना, परिवारको सदस्यको विवरण, राहदानी भिसा, जस्ता विभिन्न व्यक्तिगत विवरण सबै खुलाएको हुनुपर्छ ।

आर्थिक वर्ष (आव) २०७५/२०७६ मा चेक बाउन्समा २७ जना, आव २०७६/२०७७ मा ७७ जना, आव २०७७/२०७८मा ९४ जना, आव २०७८/२०७९मा ७९जना, आव २०७९/२०८०मा १ जना, आव २०८०/२०८१मा ५१ जना, चालु आव २०८१/२०८२ को चैत्रसम्ममा ९२ जना विदेशी नागरिक चेक बाउन्समा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन्  ।

यस तथ्यांकलाई हेर्दा आव २०७९/२०८० मा मात्र चेक बाउन्सका घटनाहरूमा विदेशीहरू पक्राउ परेका छैनन् । तर, अन्य आर्थिक वर्षमा भने चेक बाउन्समा विदेशी नागरिकको संलग्नता डरलाग्दो अवस्थामा रहेको प्रहरीको तथ्यले देखाएको छ ।