स्याङ्जामा प्रहरीले उठायो हालसम्मकै धेरै जरिवाना,‘बैंकिङ्ग कसुर’का घटना अत्याधिक


काठमाडौं – पछिल्ला दिनहरूमा स्याङ्जा जिल्ला प्रहरी कार्यालयले फरार अपराधीहरूलाई दिन प्रतिदिन धमाधम पक्राउ गरेकाे छ । जसले गर्दा त्यस प्रहरी कार्यालयमा उठ्ने गरेकाे गैह्रकर राजस्वले ‘रेकर्ड’ नै कायम गर्न सफल भएको छ । स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दधिराम न्याैपानेले आफूले नेतृत्व गरेको लगभग ४ सय जनाको टिमको कामले गर्दा छोटो अवधिमा नै यति धेरै अपराधीलाई पक्राउ गर्न सफल भएको बताए ।

अहिलेसम्ममा सबैभन्दा बढी ज्येष्ठ १४ गते ८ जना र ज्येष्ठ २१ गते ९ जनालाई पक्राउ गरिएको उनी बताउँछन् । हालसम्ममा स्याङ्जा जिल्ला प्रहरी कार्यालयले ४३ जना पक्राउ गरी सकेको उनले बताए । उनी वैशाख २४ गते मात्र स्याङ्जा जिल्ला कार्यालयमा सरुवा भएर गएका थिए । यति छोटो समयमा नै जिल्ला प्रहरी कार्यालयले पक्राउ परेकाहरूबाट मात्र एक महिनामा एक करोड ७९ लाख २८ हजार भन्दा बढी रकम उठाइ सकेको उनले बताए ।

जुन राजस्व हालसम्म उठ्ने गरेको राजस्वहरूमा सबै भन्दा बढी रहेको उनले बताए । उनका अनुसार सबै अपराधीहरूको कैद अवधि जम्मा २९ वर्ष रहेको छ । असार १ र २ गते मात्र १३ जनालाई पक्राउ गरेको उनले बताए । जिल्लामा हुने गरेका आपराधिक घटनालाई कम गर्न दुई तीन वटा अभियान सञ्चालन गरिएको न्यौपानेले बताए । जसमा जिल्ला भरिका प्रहरीहरू संलग्न रहेका छन् ।

अदालतले जिल्ला प्रहरी कार्यालयलाई ६ सयभन्दा बढी अपराधीको सूचि दिएको छ । अदालतले फैसला गरी सकेकाहरूलाई कानुनको दायरमा ल्याउने उद्देश्यका साथ विभिन्न अभियान अगि बढिएको उनले बताए । प्रहरी कार्यालयले जनताहरूको माझमा गएर न्याय र सुरक्षासँग सम्बन्धित कार्यक्रमहरू हजारौँ कार्यक्रमहरू गरेको उनले बताए ।

नदीजन्य पदार्थ तीव्र उत्खनन घटनाहरू पनि जिल्ला प्रहरी कार्यालयमा धेरै आउने उनले बताए । जसबाट मात्र २ लाख ६० हजार राजस्व उठाउन सकिएको छ, त्यो रकम हालसम्मको सबै भन्दा बढी राजस्व रहेको उनी बताउँछन् । साथै, उनको नेतृत्वमा रहेका प्रहरीले एक हप्ता जति नियमित रूपमा खटिएर १० हजार ५ सय जति गाँजाका बोटहरू फडानी गरेको उनले बताए ।

राम्दिबाट पाल्पा हुँदै भित्रिएका अवैध सामाग्री, भन्सार नतिरेका सामानहरू अथवा आन्तरिक राजस्व नतिरेका सामान लगभग १ लाख ७ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको उनी बताउँछन् । स्याङ्जा जिल्लाबाट नजिक रहेको सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन लागु पदार्थ सेवन गरेर सवारी साधन चलाइएको त छैन भनी चेक गर्न शुरु गरिएको उनी बताउँछन् । असार ६ गते २५ वटा सवारी साधन चेक गर्दा ४ जना त्यस्ता व्यक्ति भेटिएको उनले बताए ।

उनी भन्छन्, ‘जब सम्म जनता सँग प्रहरी नजिक हुन सक्दैन तब सम्म समाजमा शान्ति सुव्यवस्था कायम गराउन सकिँदैन ।’ त्यसैले गर्दा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न गरेको छ । समाजमा आपराधिक घटना हुन दिनु हुँदैन यो प्रहरीको दायित्व रहेको उनको भनाई छ ।

पछिल्ला समयमा स्याङ्जामा कर्तव्य ज्यान, जबरजस्ती करणी जस्ता पनि घटना घट्ने गरेको उनले बताए । तर सङ्ख्यात्मक हिसाबमा हाल त्यहाँ बैंकिङ्ग कसुरका घटनाहरू बढी घट्ने गरेको न्यौपाने  बताउँछन् । जसमा चेक बाउन्स, वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्नेको संख्या धेरै रहेका उनले बताए । 

जालसाजी गरी ठगी गर्ने गरिएका घटनाको उजुरी पनि स्याङ्जामा घट्ने गरेको न्यौपानेले बताए । पैसाका लागि गर्न अपराधका घटनाहरूमा जिल्ला प्रहरी स्याङ्जाले बैंकिङ्ग तथा वित्तीय संस्थासँग पुष्टि गरी कागज पत्र हेरी सम्पूर्ण विवरण चेक गरी सकेपछि बैंकिङ्ग कसुरको मुद्दा दर्ता गरी सजाय गर्न गरिएको उनी बताउँछन् ।

उनकाअनुसार साइबर अपराध र बैंकिङ्ग अपराधका बढी उजुरी आउने गरेको छ। अनलाइन ठगी, बैंकिङ्ग कसुरको घटनाहरूमा सामान्य घटनाहरूका उजुरी धेरै आउने गर्छन् । तर, गम्भीर किसिमका घटनाहरू धेरै आउने गरेका छैनन्। जिल्ला प्रहरीका अनुसार, यो वर्षमा मात्र बैंकिङ्ग कसुरमा १६ वटा उजुरी परेका छन्,भने १० जना पक्राउ परेका छन् ।