विराटनगर – साना तथा मध्यम स्तरका कम्पनीका लागि छुट्टै शेयर मार्केट आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । शनिबार मोरङ उद्योग व्यापार संघमा आयोजित नेपालको अर्थतन्त्रमा शेयर बजारको प्रभाव विषयक छलफलमा साना तथा मध्यमस्तरका कम्पनीलाई शेयर बजारमार्फत लगानी सुरक्षा गर्नुपर्ने बताए ।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास वेगवानीले शेयर बजारमा हुँदै आएको परम्परागत लगानीको सोचलाई ‘ग्रोथ’ मा परिणत गर्नुपर्ने बताए । उनले नेपालमा अहिले धेरै कम्पनीहरू ‘पब्लिक’ कम्पनीका रूपमा जान खोजेकोले लगानीकर्ताले पनि ती कम्पनीमार्फत आफ्नो लगानीको ‘ग्रोथ’ बढाउनु पर्ने बताए ।
उनले साना तथा मध्यम खालका कम्पनीलाई भारतमा जस्तै नेपालमा पनि छुट्टै शेयर बजार ‘इन्डेक्स’ आवश्यक रहेको र लगातार तीन वर्ष नाफा हासिल गरेपछि नेप्सेको मार्केटमा ल्याउनु पर्ने धारणा राखे । साथै, २० वर्षदेखि कम्पनी खडा गरेर ‘पोर्टफोलियो’ बनाइसकेको कम्पनीलाई ‘बुक भ्यालु’ मा शेयर जारी गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताए ।
मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाईँले बैंकहरूले विगतमा कर्जा लगानीमा अग्रसर बन्दा गल्ती भएको स्वीकार गरे । उनले १५ वर्षको लागि गर्नुपर्ने लगानी एकै वर्षमा गर्न खोज्दा बैंक तथा वित्तीय संस्थामा अप्ठेरो परेको कुरालाई ध्यान दिएर अहिले कर्जा नीतिलाई सुधार भएको बताए ।
शुभकामना सेक्यूरिटिजका निखिल अग्रवालले नेपालको शेयर बजार सुरक्षित रहेको बताए । उनले राम्रो कम्पनीमा गरिने लगानीले सबैलाई प्रतिफल दिने बताए । रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरेक्ट क्लब अफ विराटनगरसँगको सहकार्यमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले नेपालको शेयर बजारको सरोकारका विषयमा धारणा राखेका थिए ।
उनीहरूले नेपाली शेयर बजारको आकार ठुलो हुँदै गइरहेको तर अस्पष्ट नीतिहरूका कारण शेयर बजारमा नकारात्मक उतार चढाव र प्रभाव देखिने गरेको बताए । सहभागीहरूले नीति नियममा पर्याप्त सुधार, आईपीओ खुल्ने दरमा वृद्धि गरी निजी क्षेत्रको विश्वास पुनः जागृत गर्ने खालका सुधारात्मक काम गर्नुपर्ने सुझाव दिए । साथै, लगानीकर्ताहरूको आकर्षण बढ्ने र आर्थिक वृद्धिको माध्यम बन्ने मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य ओम प्रकाश शर्माले बताए ।



About Us
प्रतिक्रिया