काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टी (एसका) सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत बैंकिङ्ग कसुरको उजुरी परेको घटना बाहिरिएसँगै नेकपा एमालेका नेता महेश बस्नेतले कडा अनुसन्धान गर्न माग गरेका छन् । नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस विषयमा कडा अनुसन्धान गर्न माग गरेका हुन् ।
बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्,’नेकपा एसका सांसद मेटमणि चौधरीले ठेकेदारलाई दिएको ५ करोड ४० लाखको चेक हस्ताक्षर नमिल्ने गरी दिएको र खातामा पैसा नभएको कारण एभरेष्ट बैंकले बाउन्स गर्यो l यति ठुलो रकम कुन श्रोतबाट के प्रयोजनको लगी किन मेटमणि चौधरीले एउटा ठेकदारलाई दिए ? चेक काटेको भिडियो समेत सार्वजनिक भएको छ। ठगी र जालसाजीको आरोपमा प्रहरीको अनुसन्धान अघि अनुसन्धान गर्दै रहेछ। सांसद स्वयं आज सम्म मौन छन, स्वकिय सचिवले भनेछन्—’चेक हराएको थियो!’
साथै बस्नेतले थपे,’नेकपा एमाले विभाजन गरेर गएका माधवकुमार नेपालदेखि मेटमणि चौधरीसम्म ठगी र कमिसन काण्डमा संलग्न हुनु र विचलनमा जानु गम्भीर विषय हो। यो संयोग हो कि भ्रष्टाचार कमिसन या ठगीको सेटिङको हो कडा अनुसन्धान हुनु पर्दछ?’ सांसद तथा प्रमुख सचेतक चौधरीविरुद्ध हुलाक मार्फत दाङमा उजुरी परेकाे छ । तर, हुलाक मार्फत् उजुरी दिने व्यक्ति सनाखत गर्न नआएकाले हालसम्म उजुरी भने दर्ता भइसकेकाे छैन ।
प्रतिक्रिया