वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ : डेपुटी सीईओ पाण्डे


काठमाडौंं – नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)भूपेन्द्र पाण्डेले वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर मात्रै सूचना सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन्। नबिल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ्ग ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। 

वित्तीय क्षेत्रको संवेदनशीलतालाई नबुझी सूचना सम्प्रेषण गर्न नहुने उनको भनाइ छ। ‘अहिले बैंकिङ्ग  क्षेत्रलाई लिएर धेरै नकारात्मक सूचनाहरू आइरहेका हुन्छन्। त्यसलाई नबुझेर पनि धेरै गलत सूचना सम्प्रेषित भइदिँदा त्यसको असर समग्र क्षेत्रमा पर्न गइरहेको छ । तसर्थ, राम्रोसँग बुझेर सकारात्मक सूचना सम्प्रेषण गर्नुपर्नेछ’ उनले भने। 

उनले आर्थिक समृद्धिमा संवाहकको भूमिका खेलिरहेको पत्रकारहरूले बैंक जस्तो क्षेत्रको संवेदनशीलता बुझेर सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । आर्थिक पत्रकारमार्फत नै वित्तीय साक्षरताले सार्थकता पाउने उनले बताए। ‘वित्तीय साक्षरताका लागि जति कार्यक्रम ल्याए पनि पुगेको छैन । बैंकबाट ऋण  लिएर तिर्नु पर्दैन भन्छन्,’ उनले भने, ‘यो अवस्थामा वित्तीय साक्षरता अघि बढाउन आवश्यक छ । त्यसमा आर्थिक पत्रकारको भूमिका पनि महत्त्वपूर्ण छ।’

मुलुकको आर्थिक अवस्था सुधार गर्न सही ढङ्गले समाचार प्रकाशन गर्नुपर्ने उनले बताए। ‘अहिले मुलुकको आर्थिक स्थिति त्यति राम्रो छैन । यस्तो बेलामा सकारात्मक ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ। सञ्चार माध्यमले प्रवाह गर्ने सूचनाले बजारमा गहिरो प्रभाव पार्छ । तसर्थ, आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने गरी सूचना प्रवाह गर्नुपर्छ,’ उनले बताए।