काठमाडौं – पछिल्लो समयमा चेक बाउन्सका घटनाहरू बढ्न थालेका छन् । कुनै समय चेकको कारोबार निकै विश्वासिलो भएतापनि पछिल्लो चरण चेक अनादर/चेक बाउन्सका घटना बढ्दै जाँदा चेकबाट हुने कारोबार प्रतिको विश्वास कम हुँदै गएको हो। नेपालमा हाल सबैभन्दा बढी हुने वित्तीय अपराधिक घटनाहरूमा चेक बाउन्सको घटना शीर्ष स्थानमा रहेको छ।
बैंक तथा वित्तीय संस्थामा भएको रकमभन्दा बढी रकमको चेक भुक्तानी गर्नु नै चेक बाउन्स हो। प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि ‘चेक बाउन्स’को नयाँ कानुन लागु भइसकेको छ। यससँगै, चेक बाउन्सका घटनाहरू अब प्रहरीले मात्र हेर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान अभियोजन र कारबाहीलाई व्यवस्थित एवं प्रभावकारी बनाउन बैंकिङ्ग कसुर तथा ऐन, २०६४ लाई संशोधन गरिएको छ।
नेपाल प्रहरीका सह–प्रवक्ता रमेश थापाका अनुसार चेक बाउन्सका घटनाहरू माथि अनुसन्धान गर्नका लागि कर्मचारी व्यवस्थापन गरी प्रहरीको क्षमता वृद्धि गरिएको छ। प्रहरीले मात्र चेक बाउन्सका घटनाहरू हेर्नका लागि पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। केन्द्रीय अनुसन्धान ब्युरोको मातहतमा रहेर आर्थिक अपराध महाशाखा निर्माण गरी थप व्यवस्थित ढङ्गले चेक बाउन्सका घटनाहरू हेर्न सुरु गरिने उनले बताए । सर्वसाधारणले चेक बाउन्सका घटनाहरूका बारेमा जानकार नभएका कारणले पनि यस तर्फका उजुरी बढेको सह–प्रवक्ता थापा बताउँछन्।
कोरोना महामारीपछि नेपाली बजारमा आर्थिक मन्दी जारी छ । सत्तापक्षले आर्थिक मन्दी स्वीकार नगरे पनि बजार चलायमानको स्थिति केलाउँदा नेपाली अर्थतन्त्र मन्दीमा गुज्रिरहेको छ । यस्तो अवस्थामा आर्थिक अपराधका घटना बढ्दो अवस्थामा छ । यस्तै, बैंकिङ्ग विज्ञ अनलराज भट्टराई बैंकिङ्ग कसुरका घटना बढ्नुको प्रमुख कारण चेक प्रदान गर्नेको कमजोरी रहेको बताउँछन् । उनले कहिलेकाहीँ चेक प्रदान गर्दा आफ्नो बैंकको विवरण थाहा नहुँदा समस्या आउने पनि बताए। ‘साधरणतया चेक प्रदान गर्नेले आफ्नो खातामा पैसाको विवरण रुजु गरेर दिनुपर्नेमा पहिले नै चेक दिने प्रवृत्ति छ यसले समस्या सिर्जना गरेको हो’ उनले भने ।
कोरोना महामारी नेपालमा भित्रनु भन्दा अघि सम्ममा दुई/तीन हजार चेक बाउन्सका उजुरी पर्ने गरेका थिए, भने कोरोनाको महामारी पछि चेक बाउन्सका घटना झन तीव्र रूपमा बढेको प्रहरीको तथ्यले देखाएको छ। आर्थिक वर्ष २०७५/२०७६ मा प्रहरीमा २ हजार ९ सय ६६ वटा चेक बाउन्सका उजुरी परेका थिए । तर, आव २०७६/२०७७ मा ३ हजार २ सय ७५ वटा उजुरी दर्ता भएका थिए। यस्तै, आव २०७७/२०७८ मा मुलुकमा कोरोना महामारीको चरम समय रहेको थियो । उक्त समयमा २ हजार ३ सय ११ वटा उजुरी दर्ता भएको थियो। कोरोनाले मुलुकमा पारेको आर्थिक मन्दीका कारण आव २०७८/२०७९ मा चेक बाउन्सका घटनामा वृद्धि भएको थियो।
त्यस आवमा ५ हजार ३ सय ७० वटा चेक बाउन्सको उजुरी प्रहरीमा परेको थियो । आव २०७९/२०८० मा चेक बाउन्सका उजुरीको संख्यामा ह्वातै बढेको प्रहरीले जनाएको छ। उक्त, आवमा १२ हजार ३० वटा चेक बाउन्सका घटना घटेका थिए ।कोरोनाले अर्थतन्त्रमा परेको प्रभावले हालसम्म असर परेको चेक बाउन्सका घटनाले देखाएको छ । आव २०८०/२०८१ मा १३ हजार १ सय ८६ वटा घटना घटेको छ भने चालु आव २०८१/२०८२ को चैत्र मसान्त सम्ममा ९ हजार ८ सय ६ वटा उजुरी दर्ता भइसकेको प्रहरीको तथ्यांक छ।






About Us
प्रतिक्रिया