काठमाडौं – कर्णाली विकास बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन्। सिंहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले केही दिन अगाडि पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई नेपालगन्जबाट पक्राउ गरिएको जानकारी दिए।
प्रवक्ता खड्काले बैंकिङ्ग समाचारसँग भने,‘ हामीले उहाँलाई नेपालगन्जबाट पक्राउ गरेका हौँ। आरोपित पक्राउ परेसँगै रकम अपचलनको विषयमा अनुसन्धान गर्न थप सहयोग पुग्नेछ ।’ खड्काले बाँकेमा नै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। हालसम्म बैंककाे रकम घोटाला प्रकरणमा मुछिएका दुई जना पक्राउ परेका छन्।
यसअगाडि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूलाई बाँके नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ।
यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ। पक्राउ परेकाहरुविरुद्ध बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ। बैंक सञ्चालक समिति र व्यवस्थापकले नियोजितरुपमा बैंकको रकम अपलन तथा ऋण प्रवाहमा घोटाला गरेको पाइएपछि राष्ट्र बैंकले २०८१ पुस १० गते ‘टेकओभर’ गरेको थियो।
प्रतिक्रिया