पुनर्कर्जा कार्यविधि लागु, पुनर्कर्जा पाउने- नपाउने ऋणीहरु यस्ता छन्

पुनर्कर्जा कार्यविधि लागु, पुनर्कर्जा पाउने- नपाउने ऋणीहरु यस्ता छन्


बैकिङ्ग समाचार ।  
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले पुनर्कर्जा कार्यविधि २०७७ जारी गरेको छ । जसमा पुनर्कर्जा योग्य र अयोग्य कर्जाहरुको वर्गीकरणका, ब्याजदर, अवधि, सीमा, कर्जा प्रदान गर्ने प्रक्रिया तथा दण्ड जरिवानाको समेत व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार विशेषगरी कर्जालाई तीन वर्गमा विभाजन गरी पुनर्कर्जाको सुविधा दिने भएको छ । राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा पाउने क्षेत्रहरु निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाका लागि देहायबमोजिमका कर्जाहरू योग्य मानिनेछन्।

– सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाखसम्मका कर्जाहरू

-प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका १५ लाखसम्मका कर्जाहरू,

-प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू

-वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु

– कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु

– कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण

२) विशेष पुनर्कर्जाका लागि देहायबमोजिमका कर्जाहरू योग्य मानिनेछन्।

-सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू

– न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू

-रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु,

-वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु

– कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरु ।

३) साधारण पुनर्कर्जाका लागि देहायबमोजिमका कर्जाहरू योग्य मानिनेछन्।

– जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू

– पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू ।

– कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरू ।

पुनरकर्जाको ब्याजदर

पुनरकर्जा प्राप्त गर्ने इजाजतपत्रप्राप्त संस्थाले बैंकलाई तिर्नुपर्ने ब्याजदर र सम्बन्धित ग्राहक/ऋणीहरूबाट लिने ब्याजदर बैंकले समय समयमा तोके बमोजिम हुनेछ ।

\"\"

कर्जाको अवधि

राष्ट्र बैंकका अनुुसार एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने छैन ।

ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनरकर्जा नवीकरण गर्न सक्नेछ ।

पुनर्कर्जा सुविधाको सीमा

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।

बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा छ ।

पुनर्कर्जाका लागि अयोग्य कर्जाहरू

कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू ।

तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिने छैन ।

व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु, पछिल्लो आर्थिक वर्षको औसत रिटन अन इक्वीटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु, चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग/व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग/व्यवसायलाई प्रवाह भएका कर्जाहरु र बैंकले समय समयमा तोकेका अन्य कर्जाहरुले पुनरकर्जा पाउने छैनन् ।

दण्ड तथा जरिवाना

पूर्वनिर्धारित मितिमा पुनर्कर्जा रकमको साँवा/ब्याज असुलउपर हुन नसकेमा थप एक प्रतिशत (वार्षिक) को पेनाल ब्याजदरसहित सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको बैंक स्थित खाता खर्चगरी रकम असुलउपर गरिनेछ । इजाजतपत्रप्राप्त संस्थाले जरिवाना तिरेको मितिले छ महिनासम्म पुनरकर्जाको लागि आवेदन दिन योग्य हुने छैनन्।

झुट्ठा विवरण पेश गरी पुनरकर्जा माग गरेमा वा प्राप्त गरेमा, ग्राहक/ऋणीलाई पुनर्कर्जा वापतको ब्याज सहुलियत प्रदान नगरेमा त्यस्तो पुनर्कर्जा प्राप्त गर्ने इजाजतपत्रप्राप्त संस्थाको पुनर्कर्जा माग गर्ने पदाधिकारीलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कारवाही गरिनेछ ।