बीमाको ज्ञान

व्यतीत बीमालेख भनेको के हो ? यस्तो छ नवीकरण गर्ने उपाय


काठमाडौं – व्यतीत बीमालेख भनेको बीमितले तोकिएको समयमा बीमा शुल्क प्रिमियम भुक्तानी नगर्दा निष्क्रिय भएको बीमालेख हो । बीमकले बीमा शुल्क समयमा नतिरेपछि बीमा कम्पनीले बीमालेखलाई व्यतीत घोषणा गर्छन् । जसले बीमितहरु बीमाको सुविधा र कभरेजको सुविधाबाट वञ्चित हुन्छन् । यस्तो अवस्थामा बीमा कम्पनी र बीमित दुवैको हितमा असर पर्छ ।

किनभने बीमकले शुल्क प्राप्त गर्दैन र बीमितले जोखिम कभरेज पाउँदैनन् । बीमा कम्पनीहरूले बीमितहरुको लागि मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि आफ्नो बीमालेख नवीकरण गर्ने प्रावधान रहेको छ ।

कम्पनीको प्रावधान अनुसार व्यतीत बीमालेख नवीकरण गराउने प्रक्रियाहरू फरक–फरक हुन्छन् । जीवन बीमा कम्पनीहरूले बीमितहरुका लागि बीमा शुल्क बुझाउन थप समय दिएका हुन्छन् । मासिक बीमा शुल्क बुझाइ बीमालेख खरिद गरेमा १५ दिन र अन्य प्रकारको किस्तामा बीमालेख नवीकरणको अथवा बीमा शुल्कको किस्ता भुक्तानी गर्न ३० दिनको समय दिइएको हुन्छ । उक्त अवधिभित्र पनि प्रिमियम बुझाएर नवीकरण नगरेमा बीमालेख निष्क्रिय हुन्छ । जसलाई बीमालेख व्यतीत भनिन्छ ।

नवीकरण कसरी गराउने ?

व्यतीत बीमालेखलाई नवीकरण गर्न विभिन्न प्रक्रियाहरू अपनाउन सकिन्छ । जुन बीमा कम्पनीको फरक-फरक नीतिअनुसार फरक हुन्छ । बीमा शुल्क र विलम्ब दस्तुर भुक्तानी गरेर पनि नवीकरण गर्न सकिन्छ । बीमितले बक्यौता बीमा शुल्क र विलम्ब दस्तुर तिर्नुपर्छ । केही कम्पनीले वार्षिकोत्सव वा आर्थिक वर्षको अन्त्यमा विलम्ब दस्तुरमा छुट दिने योजना ल्याउने पनि गरेका हुन्छन् । बीमालेख व्यतीत भएको ६ महिनादेखि ३ वर्षभित्र नवीकरण गर्न सकिन्छ ।

बीमा शुल्क भुक्तान गरिने अवधिको आधारभूत बीमकले कम्तीमा ६ महिनाको बीमा शुल्क भुक्तान गरिने अवधिको आधारमा बीमालेख सक्रिय हुन्छ । बाँकी बीमा शुल्क र ब्याज बढीमा दुई वर्षभित्र भुक्तान गर्नुपर्छ र आगामी बीमा शुल्क नियमित बीमा शुल्क तिरेको हुनुपर्छ । केही बीमा कम्पनीले विशेष नवीकरण योजना सञ्चालन गरेका हुन्छन् । जसमा विलम्ब दस्तुरमा छुट वा नयाँ शुल्क निर्धारण गरी बीमालेख सक्रिय गरिन्छ ।

यस्ता योजनाहरू सीमित समयका लागि हुन सक्छन् । बीमा अभिकर्ताको सहयोगमा पनि बीमालेख नवीकरण गर्न सकिन्छ । अभिकर्ताहरूले प्रक्रियाबारे सुझाव र मार्गदर्शन प्रदान गर्छन् । अभिकर्ताले आवश्यक कागजात र प्रक्रियाबारे जानकारी दिएर बीमितलाई सहयोग पनि गर्न सक्छन् । बीमालेख व्यतीत हुन नदिन मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रूपमा नियमित बीमा शुल्क तिर्नु उपयुक्त हुन्छ । बीमा कम्पनीले प्रिमियम तिर्न थप समय दिन्छ । जस्तै मासिक शुल्कमा १५ दिन वा अन्यमा ३० दिन । यो अवधिमा शुल्क तिरेर व्यतीत हुनबाट जोगाउन सकिन्छ ।