काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले सरकारी पदमा रहेर गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगको आरोप लगाएको छ । राष्ट्रसेवक पदमा बहाली भएपश्चात् वार्षिक रूपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको पुष्टि भएकोले उनी माथि भ्रष्टाचार मुद्दा लगाइएको हो ।
उनले सार्वजनिक पद धारण गरेको मिति २०५५/०१/०७ देखि मिति २०७९/१२/ २४ गतेसम्मको अवधिमा पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घरजग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण सापटी लिएको रकम, शेयर बिक्रीबाट प्राप्त रकम, सवारी साधन बिक्री आय, बिमा परिपक्व र समर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी कूल जम्मा २ करोड ८९लाख रुपैयाँ आर्जन गरेको देखिएको आयोगले बताएको छ ।
साथै, सार्वजनिक सेवाको पदमा रहँदा गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट उनकी श्रीमतीकाे नेपालका नाममा खरिद गरी राखेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख समेतको प्रचलित कानून बमोजिम जफत गरी उनीविरुद्ध पनि आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।
उनले उक्त अवधिमा घर परिवारको नाममा घर निर्माण, जग्गा खरिद, घर–जग्गा रेजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष , बैंक जनक शिक्षा सामाग्रीमा ऋण तिरेको रकम, शेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैंक मौज्दात गरी जम्मा ५ करोड चालीस लाख बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको खुल्न आएको छ । समग्र आयबाट खर्च तथा लगानी घटाउँदा २ करोड ५१ लाख रुपैयाँ ऋणात्मक हुन गई स्रोत पुष्टि हुन नसकेको हुँदा उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको आयोगले जनाएको छ ।
आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) कसुरमा बिगो दुई करोड एकाउन्न लाख अठहत्तर हजार रकम कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।



About Us
प्रतिक्रिया