एकैदिन ५ अर्बले घट्यो बैंकिङ्ग निक्षेप, कर्जा प्रवाह स्थिर 


काठमाडौं – पछिल्लो  समय बैंकिङ्ग प्रणालीको निक्षेपमा एकै दिन ५ अर्ब रुपैयाँको गिरावट देखिएको छ। केन्द्रीय बैंकको जेठ २८ र २९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा सो रकम बराबरको गिरावट देखिएको हो । जेठ २८ गते बैंकिङ्ग प्रणालीमा ६९ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ६९ खर्ब ८१ अर्बमा खुम्चिएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि ६ अर्ब रुपैयाँले घटेको छ । जेठ २८ गते ६२ खर्ब ४९ अर्ब निक्षेप संकलन भएकोमा जेठ २९ गते ६२ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सो समयमा कर्जा प्रवाह भने स्थिर रहेको छ । जेठ २८ गते ५५ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरूकाे कर्जा प्रवाह पनि स्थिर रहेको छ । दुवैदिन वाणिज्य बैंकहरूले ४९ खर्ब ४० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७८ दशमलव ५१ प्रतिशत रहेको छ ।