राष्ट्र बैंकले ४० अर्ब माग्दा बैंकहरुले राख्न चाहे ६० अर्ब


काठमाडौं – नेपाल राष्ट्र बैंकले ४० अर्ब माग गर्दा बैंकहरुले भने ६० अर्ब राख्न चाहेका छन् । असार १ गतेका लागि नेपाल राष्ट्र बैंकले ४० अर्बको बोलकबोल गर्न खोजेको समयमा बैंक तथा वित्तीय संस्थाले ६६ अर्ब २५ करोड बराबरको बोलकबोल गर्न चाहेका हुन् ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज ४० अर्ब रुपैयाँ तान्न लागेको थियो । आज २७ वटा बैंक तथा वित्तीय संस्थाले ४३ वटा बोलकबोलबाट उक्त रकमबराबरको आवेदन दिएका हुन् । तर राष्ट्र बैंकले भने ४० अर्ब नै बोलकबोल गरेको हो ।

बैंकहरुसँग अत्यधिक तरलता थुप्रिदा राष्ट्र बैंकले माग गरेको भन्दा बढी रकम बोलकबोल गरेका हुन् । यो ४२ दिने निक्षेप संकलन उपकरणको साउन ११ गते बैंक तथा वित्तीय संस्थाले साँवा तथा ब्याज भुक्तानी पाउने केन्द्रीय बैंकले जनाएको छ ।