दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आईपीओ निष्कासन गर्दै


काठमाडौं – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आउँदो असार ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। 

कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ । यसमध्ये १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुटाइएको हो । उक्त  शेयरमा गुल्मीको मुसिकोट नगरपालिका, बागलुङको गलकोट नगरपालिका र बडी गाड गाउँपालिकाका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, २९ लाख १९ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुटाइएको छ।  कम्पनीले  आफ्नो कर्मचारीका लागि ५८ हजार ३९० कित्ता आफ्ना कर्मचारी र १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको छ।

उक्त आईपीओमा न्यूनतम  १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयवासीले सो आईपीओमा छिटोमा असार २३ र ढिलोमा साउन ६ गतेसम्ममा आवेदन दिन सकिने छ भने वैदेशिक रोजगारीमा रहेकाले असार २३ गतेभित्र आवेदन दिनुपर्नेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराज क्यापिटल लिमिटेड रहेको छ ।