काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीकाे संयोजकमा, भुवन कुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी तीन सदस्यीय ‘बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो।
उक्त कार्यदलको समयावधि एक महिनाको रहने छ भने सो उपसमितिले विभिन्न विषयमा सुझाव दिने जिम्मेवारी राष्ट्र बैंकले तोकेको छ । राष्ट्र बैंककाअनुसार बैंकिङ्ग नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ्ग सेवाको विकासका सम्बन्धमा, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सो कार्यदलले सुझाव पेस गर्नुपर्नेछ ।
त्यस्तै, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ्ग क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा सुझाव पेस गर्नुपर्ने भएको छ । त्यस्तै, सो उपसमितिले पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा पनि सुझाव पेस गर्नेछ।
प्रतिक्रिया