१० महिनामा विदेश पढ्न गएका विद्यार्थीसँगै बाहिरियो १ खर्ब १२ अर्ब


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो १० महिनामा विदेश पढ्न गएका विद्यार्थीसँगै १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको विवरण अनुसार पढ्न विदेश गएका नेपाली विद्यार्थीसँगै पछिल्लो १० महिनामा मुलुकबाट १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि विदेश गएका विद्यार्थीसँगै ८ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षका १० महिना अर्थात् ०८१ साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ बाहिरिएको छ । उक्त रकममध्ये एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि भ्रमण व्यय १७.९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षका १० महिनामा विदेश गएका नेपालीसँगै एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।