हिमालयन बैंकबाट बाहिरिने तयारीमा पाकिस्तानी हबिब बैंक, २ करोड बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – हिमालयन बैंकको शेयरधनी पाकिस्तानी हबिब बैंकले आफ्नो लगानी झिकेर बाहिरिने भएको छ । हिमालयन बैंकमा हबिब बैंकको शेयर २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता छ । हबिब बैंकले उक्त शेयर प्रतिकित्ता १ सय १२ रुपैयाँ ८० पैसाका दरले बिक्री गर्न लागेकाे हाे ।

बैंकले हबिबको स्वामित्वमा रहेको शेयर पहिलो चरणमा आफ्नै संस्थापक शेयरधनीहरुमा बिक्रीमा राखेकाे छ । संस्थापक शेयरधनीबाट उक्त कित्ता शेयर खरिद नभएमा र बाँकी रहेमा बैंकले सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राख्ने जनाएको छ।

बैंकले जारी गरेको सूचनाअनुसार शेयर खरिदको इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन काठमाडौंको कमलादीस्थित बैंकको मुख्य कार्यालय, हेरिटेज प्लाजास्थित कानुन विभागमा बुझाउन सकिनेछ।