डिजिटल भुक्तानी बढ्दै जाँदा डिजिटल ठगी बढ्दो, बैंकका कर्मचारी नै संलग्न


काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार बढ्दै जाँदा डिजिटल ठगीमा पनि वृद्धि भएको बताएको छ । केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण रिपोर्टले डिजिटल कारोबार बढ्दै जाँदा डिजिटल ठगीमा पनि वृद्धि भएको देखाउँछ ।

राष्ट्र बैंकले सुविधा र कार्यक्षमताको कारण डिजिटल बैंकिङ्गको प्रयोग तीव्र गतिमा वृद्धि भएको बताउँदै यससँगै सम्बन्धित जोखिमहरू र नकारात्मक असरहरू पनि बढिरहेका उल्लेख गरेको हो । डिजिटल कारोबार बढ्दै जाँदा साइबर सुरक्षा सम्बन्धी खतरा, डाटा गोपनीयतामा समस्या, तेस्रो पक्ष सेवाप्रदायकसँग सम्बन्धित जोखिमहरू बढ्दो क्रममा रहेको बताएको हो ।

नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्ग सेवाको प्रवद्र्धन गर्दै आउँदा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक आदिलाई डिजिटल वित्तीय साक्षरता प्रवद्र्धन गर्न, कर्मचारीहरूको सीप वृद्धिमा ध्यान दिनुपर्ने समेत बताउँदै आएको छ ।

बैंकिङ्ग क्षेत्रमा ठगी गतिविधिहरू दिनप्रतिदिन बढ्दो क्रममा रहेको र यस्ता गतिविधिमा बैंकका ग्राहक, कर्मचारी, व्यवस्थापन तहका व्यक्तिहरू तथा बोर्ड सदस्यहरूको समेत संलग्नता देखिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । यस्ता ठगी गतिविधिहरूमा नक्कली धितो राख्ने, बचतकर्ताको निक्षेपको दुरुपयोग गर्ने, ऋण लिएको उद्देश्यभन्दा फरक क्षेत्रमा प्रयोग गर्ने, झूटा मूल्यांकन गर्ने जस्ता क्रियाकलापहरू गर्ने गरेको पाइएको उक्त रिपोर्टमा उल्लेख छ ।

‘यस्ता बढ्दो ठगी गतिविधिहरू नियन्त्रण गर्न बैंकहरूले संस्थागत सुशासनलाई बलियो बनाउनु, पारदर्शिता र सूचनाको प्रवाहको संस्कारलाई प्रवद्र्धन गर्नु, पर्याप्त जोखिम व्यवस्थापन सुनिश्चित गर्नु र कर्मचारीहरूको क्षमता अभिवृद्धिमा जोड दिनु आवश्यक छ’ राष्ट्र बैंकले भनेको छ ।