काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि छुट्टाइएको बजेट टुक्रा–टुक्रा पारी खरिद गरेको आयोगले जनाएको छ ।
आर्थिक वर्ष २०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रममा वडा नं.१ देखि वडा नं.९ सम्मको लागि सौर्य बत्ती जडान गर्ने योजनामा ९ वटा शीर्षकमा २ करोड १६ लाख विनियोजन भएको थियो । एकै प्याकेजमा खरिद गर्नुपर्नेमा टुक्र्याई पाँच वटा प्याकेज बनाई उपलब्ध बजेट भन्दा बढी रकमको लागत अनुमान स्वीकृत गरी बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको थियो ।
सौर्य बत्ती जडानको लागि ७ वटा फर्महरूले बोलपत्र पेस गरेको थियो । प्रत्येक ठेक्कामा ३–३ वटा फर्महरूबीच मात्र प्रतिस्पर्धा भएकोमा ३ वटा फर्महरू स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालका बुबा, छोरा र बुहारीको नाममा रहेको देखिएको आयोगले जनाएको छ ।
समग्रमा लागत अनुमान रकमको १.४९ प्रतिशत मात्र घटी ९८.५१ प्रतिशत रकममा कबोल गरी बोलपत्र स्वीकृत भएको थियो । ठेक्का बमोजिम खरिद भएका सम्पूर्ण सामानहरू स्काई राइज ट्रेडिङ कन्सर्नका प्रोप्राइटर जय प्रकाश यादवले नै आपूर्ति गरेको देखिएको थियो । सौर्य बत्ती जडानको लागि मालसामान खरिद गर्न परिवारका सदस्यहरूको नाममा रहेको स्काई राइज ट्रेडिङलाई ब्याट्री खरिद ठेक्का दिएको खुल्न आएको आयोगले जनाएको छ ।
जसमा पोल खरिद, सोलार प्यानल खरिद, लाइट–तार–नटबोल्ट खरिद, ब्याट्री खरिद र चार्ज कन्ट्रोलर खरिद तथा इन्स्टलेसन समेतको लागि बदनियत राखी टुक्राई ५ वटा प्याकेजको छुट्टाछुट्टै गरी स्वीकृत विनियोजित बजेट भन्दा २ करोड ५३ लाख रुपैयाँ बढी रकम अनियमितता गरेको आयोगले जनाएको छ।
ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (ङ) र (ञ) बमोजिमको कसुरमा बिगो कायम गरी सोही ऐनको ८ को उपदफा (१) बमोजिमको कैद र २ करोड ४९ लाख ४० हजार बिगो माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले बताएको छ ।
प्रतिक्रिया