काठमाडौं– जनसंख्या विश्लेषक एवं पत्रकार चेतन अधिकारीले नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै भएकोले उद्यमशीलतामा पनि महिलालाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
अधिकारीले कुल जनसंख्याको करिब ५२ प्रतिशत महिला भएको देशमा महिलालाई नै प्रोत्साहन गर्ने गरी राज्य,राष्ट्र बैंक र बैंकहरुले कर्जा नीति ल्याउनुपर्ने बताए । उनले नेपालको बदलिँदो जनसंख्याको संरचना अनुसार ऋण प्रवाह पनि त्यतैतर्फ मोड्नु पर्ने बताए ।
नेपालको जनसंख्याको उमेर संरचनाको पिरामिड र बैंकका ऋणीहरूको पिरामिड बनाएर हेरेमा जनसंख्या कस्तो अवस्थामा छ, ऋण प्रवाह कस्तो अवस्थामा छ भन्ने थाहा हुने उनले बताए ।

वैदेशिक रोजगारीमा २५ देखि ४० वर्ष उमेर समूहका युवाहरूको बाहुल्यता भएकोले त्यस्तो समूहलाई लक्षित गरेर साना तथा मझौला कर्जाका प्याकेज ल्याउनु पर्ने उनको भनाइ छ । वैदेशिक रोजगारीलाई न्यून गर्न, उद्यमशीलतामा प्रोत्साहन गर्न बिना धितो ऋण प्रवाहलाई पनि प्राथमिकतामा राख्न उनले सुझाव दिएका छन् ।
बैंकहरुले साना उद्यमीलाई प्राथमिकतामा नराख्ने ठुला ऋणीको पछि लाग्ने हुँदा साना उद्यमीहरू व्यवसाय गर्ने अवसरबाट वञ्चित भएको उनले बताए । नेपालमा तथ्यांकको वेवास्ता गरेर योजना बनाउने प्रचलन भएकाले राम्रो लक्ष्य राखेर बनाइएको योजना पनि असफल हुने गरेको उनको भनाइ छ।





About Us
प्रतिक्रिया