सर्वोच्चले अस्वीकार गर्यो राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको पूरक निवेदन


काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नरमा नियुक्ति हुन नसक्ने भन्दै दायर पूरक निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अधिवक्ताहरु विशाल थापा र प्रतिभा उप्रेतीले १८औं गभर्नरको दौडमा रहेका डा. भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ६५ वर्षसम्म उमेर हद रहेकोमा हटाएपछि अधिवक्ता विशाल थापाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । यता सोही रिटमाथि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन परेको थियो । सर्वोच्च अदालतले पूरक निवेदन अस्वीकार गरेसँगै भट्टलाई गभर्नर बन्ने बाटो समेत खुलेको हो।

गभर्नर नियुक्तिमा ढिलाइ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । सत्तारूढ गठबन्धनका प्रमुख दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीच डा. भट्टलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा सार्वजनिक भएसँगै भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर, उनले दिएको राजीना कामु गभर्नर डा. निलम ढुंगानाले तिम्सिनाले अझै स्वीकृत गरिसकेकी छैनन् । अर्थमन्त्री विष्णु पौडेलले कामु गभर्नर तिम्सिनालाई कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन समेत दिएका छन्।