‘सरकारले बीमा बुझेर सबै सरकारी भौतिक सम्पत्तिको बीमा गर्नुपर्छ’

‘सरकारले बीमा बुझेर सबै सरकारी भौतिक सम्पत्तिको बीमा गर्नुपर्छ’


काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सरकारलाई नै बीमा बुझाउन नसकिएको बताएका छन् । सीईओ क्षेत्रीले बैंकिङ्ग समाचारसँगको कुराकानीका क्रममा सरकारले बीमा नबुझ्दा अर्बौ रुपैयाँ बराबरका सरकारी भौतिक सार्वजनिक सम्पत्तिको बीमा नगरेको बताएका हुन् ।

उनले यही वर्षको असोज १२ र १३ गते आएको अविरल वर्षाका कारणले आएको बाढी पहिरोमा परी अर्बौँ रुपैयाँ बराबरको सरकारी सम्पत्तिको क्षति भएको बताए । ती भौतिक सम्पत्तिको बीमा नहुँदा राज्यले दोब्बरको क्षति बेहोर्नुपर्ने उनको भनाइ छ। ‘वार्षिक १७ खर्ब रुपैयाँ हाराहारीको बजेटमा ३ खर्बको विकास बजेट छ,’ उनले भने, ‘यसमा पनि सरकारी सम्पत्तिको पुनः निर्माणमा अधिकांश रकम खर्चिनुपर्छ ।’

सो बाढी र पहिरोबाट सरकारी सडक, पुल, विद्यालय लगायतका भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ । सञ्चालनमा रहेका ती भौतिक संरचनाको क्षति हुँदा सो बराबरको क्षति सुरुमा नै र पुनः निर्माण गर्दा सो बराबरकै क्षति हुँदा दोब्बर क्षति हुने उनको भनाइ छ । ‘यदि बीमा हुन्थ्यो भने कानुनसम्मत आउने रकम सरकारी कोषमा जान्थ्यो र पुनः निर्माणमा सहज हुन्थ्यो,’ उनी भन्छन्।

यस्तै, सो बाढीका कारण नेपालको बीमा कम्पनीहरूलाई ठुलो आर्थिक भार परेको क्षेत्रीको भनाइ छ । उनी भन्छन्,‘बीमाको काम नै समस्या पर्दा सहयोग गर्नु हो । १२ अर्ब हाराहारीको दाबी परेको छ । बीमितलाई दाबी परेको रकम भुक्तानी दिनु कम्पनीको कर्तव्य हो ।’ दाबीअनुसारको भुक्तानी प्रक्रिया अघि बढिरहेको बताउँदै उनले थपे, ‘कम्पनीहरूले दिने चुस्त सेवाका आधारमा प्रतिक्रिया आउने हो ।’

क्षेत्रीका अनुसार नेपालमा प्रत्येक वर्ष बाढी र पहिरोबाट ठुलो जनधनको क्षति हुन थालेको छ । यस्तो अवस्थामा सरकारले पनि सरकारी सम्पत्तिको बीमा गरेर सर्वसाधारण समक्ष उदाहरण प्रस्तुत गर्नुपर्ने क्षेत्रीको भनाइ छ ।

‘भुक्तानीमा ढिलाइ भएको छैन’

असोजमा गएको बाढी पहिरोको क्षतिमा कम्पनीहरूमा परेको दायित्वमा भुक्तानीमा ढिलाइ नभएको उनको भनाई छ । १२ अर्ब रुपैयाँको दाबी पर्दा १० प्रतिशत भुक्तानी भइसकेको बीमा प्राधिकरणको तथ्यांक छ । यो तथ्यांकलाई न्यून भन्न नमिल्ने क्षेत्री बताउँछन् । ‘सुरुमा सर्भेयरबाट डकुमेन्ट आउनुपर्छ । बीमित स्वयमले समेत ढिलाइ गर्छन्,’ उनले भने ।