तनावमा बैंकर : किन टुट्दैछ सेवाग्राहीको विश्वास ?

तनावमा बैंकर : किन टुट्दैछ सेवाग्राहीको विश्वास ?


काठमाडौं – देशमा सञ्चालित उत्कृष्ट रोजगारमध्ये शीर्षस्थानमा पर्ने बैंकको जागिर तनावमय बन्दै गएको छ । कोरोना महामारीयता बैंकमाथि दबाब पर्न थालेसँगै बैंकरमाथि समेत तनावको भार बढ्न थालेको हो । बैंकमा अत्याधिक तरलता थुप्रिनु, कर्जा लगानी नहुनु र भएको कर्जा लगानी समेत नउठ्नु लगायतका तनाव यस अघिदेखि नै बैंकर्सलाई छन् । यस्तै, ननपर्फमिङ लोन बढ्नुका साथै कयौं तनावमाथि सेवाग्राहीको अटुट विश्वास समेत टुट्न थालेको छ ।

बैंकहरुले ग्राहकको आवश्यकताअनुसार काम गर्न नसक्दा बैंकलाई सेवाग्राहीले गर्ने विश्वासमा कमी आएको हो। अधिकांश बैंकहरुले वित्तीय कारोबार गर्दा अपनाइने विभिन्न प्रक्रियाहरू सेवाग्राही समक्ष स्पष्टरुपले प्रस्तुत नगर्दा बैंकलाई सेवाग्राहीले गर्ने विश्वासमा कमी आएको बुझ्न सकिन्छ ।

कतिपय बैंक वित्तीय संस्थाले कुनै पनि सेवा प्रयोग गर्दा लाग्ने शुल्कहरूको बारेमा पनि राम्रोसँग स्पष्ट नपार्दा बैंकलाई ग्राहकले गर्ने विश्वासमा कमी आएको कतिपयको बुझाई छ । साथै, बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीको काममा ढिलाइ गरिदिँदा ग्राहक बैंकलाई विश्वास कम गर्न थालेका छन् ।

ऋणको प्रक्रिया, कारोबार प्रक्रिया, बैंक खातामा गर्नुपर्ने परिवर्तन लगायतमा ढिलाइ हुनेगर्छ । कयौं बैंकहरुमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हुन्छ । जबकि, घण्टौँको लाइनबाट समेत सहजरूपमा काम नहुने स्थिती छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले ग्राहकले लिने कुनै पनि सेवाको मूल्य ग्राहकले दिन तयार भएको भन्दा धेरै भएमा सेवाग्राहीले असन्तुष्टि जनाउँछन् ।

धेरैजसो बैंकहरुले आफ्ना सेवामा अनावश्यक शुल्क कायम गरेका हुन्छन् । जसले, सेवाग्राहीले बैंकलाई गर्ने विश्वास कम गर्छ । केही बैंकहरुमा देखिएका विभिन्न प्रकरणका कारण पनि बैंकवित्तीय क्षेत्रमा सेवाग्राहीको विश्वास घटेको देखिन्छ । बैंकलाई सेवाग्राहीले गर्ने विश्वास बिस्तारै कम हुँदै जानुको प्रमुख कारणका रुपमा बैंक आर्थिक अपराधका घटनामा मुछिनु पनि हो ।

बैंकहरूले आफ्नो सेवामा वित्तीय कर छली लगायत अन्य आर्थिक अपराध गर्दा बैंकबाट सेवा लिएका ग्राहकहरूले आफूहरूको बचत असुरक्षित रहेको अनुभव गर्छन् । जसले, बैंकको प्रतिष्ठामा त असर पर्छ नै यता बैंकलाई सेवाग्राहीले हेर्ने नजर र गर्ने विश्वासमा कमी आउँछ ।

गभर्नर महाप्रसाद अधिकारी समेत यतिबेला बैंकरहरुमाथि मानसिक दबाब परिरहेको बताउँछन् । नेपाल बैकर्स संघको वार्षिक कार्यक्रममा सम्बोधन गर्दै उनले ऋण लगानी नहुनु, भएको लगानी नउठ्नु लगायतका कारण बैंकरहरु मानसिक दबाबमा रहेको बताएका थिए ।

बैंक र सेवाग्राहीको सम्बन्ध सुमधुर बनाउने जिम्मेवारी बैंकरलाई हुन्छ । बैंकलाई ग्राहकले गर्ने विश्वासमा कमी आउँदा बैंकरलाई थप तनाव उत्पन्न हुन्छ । पछिल्लो चरण देशमा छाएको आर्थिक मन्दीका कारण पनि सेवाग्राहीको विश्वास कम भएको कतिपयको बुझाई छ । बैंकरलाई बैंकको नीतिभित्र रही ग्राहकको चाहनाअनुरूप काम गर्न निकै चुनौती सिर्जना हुन्छ त्यसमा पनि सेवाग्राहीको विश्वास कम हुँदा ग्राहको विश्वास बढाउने चुनौती थपिन्छ ।

एक वाणिज्य बैंकका कर्मचारी बैंकिङ्ग क्षेत्रमा काम गर्न बाहिरबाट हेर्दा मात्रै सहज छ । उनले पछिल्लो चरण ग्राहकले बैंकलाई गर्ने विश्वासमा कमी हुँदा विभिन्न चुनौती सामना गर्नुपरेको बताए । बैंकिङ्ग समाचारसँग ती बैंकरले भने, ‘ब्याजदर परिवर्तन भइरहने हुँदा केही विश्वास गुमेको हो र हामीले काम नै ग्राहकसँग गर्नुपर्ने भएकाले ग्राहकले विश्वास नगर्दा तनाव त सिर्जना भइहाल्छ ।’