काठमाडौं – ग्रामीण क्षेत्रमा बीमाको पहुँच स्थापित गर्ने लक्ष्यसहित स्थापित लघु बीमा कम्पनी नै सहर केन्द्रित बन्न थालेका छन्। बीमा प्राधिकरणले बीमा कम्पनीहरू ग्रामीण क्षेत्रमा पुग्न नसक्दा पहुँच विस्तारमा बाधा पुगेको भन्दै लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । तर, गाउँ- गाउँमा पुगेर बीमाको पहुँच बढाउने लक्ष्य बोकेका लघु बीमा कम्पनी नै सहर केन्द्रित बन्न थालेका हुन् ।
न्यून आय भएका वर्गलाई बीमा क्षेत्रमा भित्र्याउने लक्ष्य सरकारको छ । सरकारले कम्तीमा ५० प्रतिशत जनसङ्ख्यालाई बीमाको पहुँच पुर्याउने लक्ष्य लिएको छ। तर, यो लक्ष्य सहरी क्षेत्रमा केन्द्रित बीमा कम्पनीबाट पुरा नहुने देखेपछि सरकारले लघु बीमा कम्पनीको ‘कन्सेप्ट’ लिएको थियो । यहीकारण, प्राधिकरणले २०७९ मा ७ वटा लघु बीमालाई लाइसेन्स दिएको थियो ।
यी कम्पनीहरूको प्रदर्शन हेर्दा ग्रामीण क्षेत्र छाडेर सहरमा नै केन्द्रित बनेका हुन् । चालू वर्षको पछिल्लो तथ्यांक हेर्दा बीमाको पहुँच खुम्चँदो अवस्थामा छ । ४५ प्रतिशत पुगिसकेको बीमाको पहुँच खुम्चिएर ४४ प्रतिशतमा आइपुगेको बीमा प्राधिकरणको तथ्याङ्कले नै देखाउँछ ।
के भन्छन् कम्पनी ?
नेपालमा लघु बीमा कार्यक्रम अघि बढेको एक दशक पुगिसकेको छ । २०७१ मा नेपाल बीमा प्राधिकरण तत्कालीन बीमा समिति ले लघु बीमा निर्देशिका जारी गरी कम्पनीलाई लघु बिमा ‘बीमालेख’ बिक्री गर्न निर्देशन दिएको थियो । त्यसपछि २०७३/७४ मा बीमा कम्पनीलाई कुल व्यवसायको ५ प्रतिशत लघु बीमा गर्न भनेको थियो । लघु बीमा गर्दा लागत बढ्ने तर त्यसको प्रतिफल कम हुने भएपछि ठूला बीमा कम्पनीहरूले चासो नदेखाएपछि लघुबीमा पोलिसी बिक्री भएको थिएन ।
सोहीकारण लघु बीमा कार्यक्रम अघि सारिएको थियो । तर, त्यसमा प्रभावकारी कार्यक्रम अघि नबढेपछि लघु बीमा कम्पनी नै खडा गरेर लघु बीमा कार्यक्रम अघि सारिएको हो । बीमा प्राधिकरणले लघुबीमा कारोबार गर्न भन्दै जीवन बीमा व्यवसायका लागि तीन र निर्जीवन बिमा व्यवसायका लागि चार कम्पनीलाई २०७९ मंसिरमा अनुमति दिएको थियो । लघु बीमा कारोबार गर्न नयाँ कम्पनी बजार आएसँगै गाउँ गाउँ र घरघरमा गएर बिमा हुने र त्यसले गरिबी निवारणमा थोरै भए पनि सहयोग पुग्ने प्राधिकरणको विश्वास थियो ।
जसमा बीमाको दायरा घटेको अनुसार लघुबीमा कम्पनीहरूको प्रयास सफल भने भएको छैन । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले लघुबीमा कम्पनीहरूले आफ्नो तर्फबाट प्रयास गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘ग्रामीण भेगमा केही हदसम्म बीमाको सचेतना पुर्याउन लघुबीमा कम्पनीहरूको हात छ । बीमा कम्पनीहरू सहर केन्द्रित भए भन्ने कुरा सत्य होइन । ग्रामीण क्षेत्रमा स्थानीय सरकार सँग मिलेर बीमा सचेतना फैलाइरहेका छौ।’
लघुबीमा कम्पनीहरूको कारण बीमा क्षेत्रमा सुधारको आसामा रहेको नेपाल बीमा निराश बन्न पुगेको छ । प्राधिकरणका निर्देशक सुशील देव सुवेदी बीमाको दायरा बढाउन लघुबीमा कम्पनीहरूको अहम् भूमिका निभाउँछन् भन्ने आङ्कलनसहित लाइसेन्स वितरण गरिएको बताउँछन् । तर, लघु कम्पनीहरू समेत सहरमै केन्द्रित बनेको प्राधिकरणको भनाइ छ ।
पहिलो त्रैमासमा २२ करोडको व्यापार
नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमा कम्पनीले २२ करोड हाराहारी व्यापार गरेका छन् । यी कम्पनीहरूले ४ लाख ३० हजार ४५० वटा बीमालेख जारी गर्दै २१ करोड ९५ लाख ५३ हजार रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेका हुन् । गार्डियन माइक्रो लाइफले २ लाख ९९ हजार ४५७ वटा बीमालेख जारी गरेर ८ करोड ८१ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
क्रेष्ट माइक्रो लाइफले असोजसम्म ८५ हजार ८३६ वटा बीमालेख जारी गर्दै ७ करोड ९७ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी, लिबर्टी माइक्रो लाइफले ४५ हजार १५७ वटा बीमालेख जारी गरेर ५ करोड ४४ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै, नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिसम्म ४ वटा निर्जीवन लघु बीमकले ६९ हजार ७९० वटा बीमालेख जारी गर्दै १८ करोड ५६ लाख ३९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्सले ५ करोड ५० लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ६१ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ करोड २६ लाख ५५ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्स ४ करोड १८ लाख ५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
बढेन बीमाको दायरा
गत वर्षको यस अवधिको तुलनामा १.११ प्रतिशत बीमाको दायरा खुम्चिएको हो । जबकी, सरकारको लक्ष्य नै जनसङ्ख्याको ५० प्रतिशतमा बीमाको पहुँच पुर्याउने छ । पहुँच नकारात्मक बनेपछि बीमाको दायर खुम्चिएर ४३.२७ प्रतिशतमा आइपुगेको छ । जुन, यसअघि ४४.३८ प्रतिशत पुगिसकेको थियो । जीवन बिमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन् । निर्जीवन बीमा व्यवसायतर्फ नेपाल माइक्रो इन्स्योरेन्स स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कारोबार सुरु गरिसकेका छन् ।
प्रतिक्रिया