बैंक खाता अरुलाई चलाउन दिनुभएको छ भने तपाई ‘मनी म्युल’ बन्नुभएको हुन सक्छ, ‘मनी म्युल’ के हो ?

बैंक खाता अरुलाई चलाउन दिनुभएको छ भने तपाई ‘मनी म्युल’ बन्नुभएको हुन सक्छ, ‘मनी म्युल’ के हो ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ वित्तीय अपराध रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै ‘मनी म्युल’ को बारेमा जानकारी गराएको हो ।

यस्तो जालमा नपरी यस्ता कार्यप्रति सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ । ‘के तपाईले आफ्नो बैंक खाता वा वालेट खाता अन्य व्यक्तिहरूलाई प्रयोग गर्न दिनुभएको छ ? यदि छ भने, तपाई ‘मनी म्युल’ बन्नुभएको हुन सक्छ ।’ केन्द्रीय बैंकद्वारा जारी सन्देशमा भनिएको छ ।

केन्द्रीय बैंकले वित्तीय अपराधमा संलग्न व्यक्तिहरूले जोकोहीको खाता प्रयोग गर्नको लागि विभिन्न माध्यमहरूबाट छिटो र आकर्षक आम्दानी हुने प्रस्तावहरू पठाई विश्वासमा पारी बैंक खाता वा वालेटको गोप्य विवरण लिने गर्ने गरेको उल्लेख समेत गरेको छ ।

बैंकले वित्तीय अपराधमा संलग्न व्यक्तिहरूले खातामा आपराधिक कार्यबाट प्राप्त गरेको रकम जम्मा गरी सो रकम नगदमा झिक्ने वा पुनः अन्य खातामा रकमान्तर गर्ने पनि बताएको छ । बैंकले त्यस्ता व्यक्तिले जो कोही खाता वालालाई पनि अपराधको साझेदार बनाउन सक्ने बताएको छ । केन्द्रीय बैंकले यस्तो जालमा नपरी र यस्ता कार्यप्रति सचेत रही जिम्मेवार वित्तीय व्यवहार अपनाउन आग्रह समेत गरेको छ ।

‘आफ्नो बैंक खाता वा वालेटको जानकारी कसैलाई नदिनुहोस् । यस्तो गतिविधि सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित वित्तीय अपराध भएकोले यसमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीसमेत हुन्छ अपराध हो’ केन्द्रीय बैंकले भनेको छ ।