के सन् २०२२ मा अमेरिकामा आर्थिक मन्दी आउला त ? ९ तथ्याङ्क हेर्दा यस्तो देखियो अमेरिकी अर्थतन्त्र

के सन् २०२२ मा अमेरिकामा आर्थिक मन्दी आउला त ? ९ तथ्याङ्क हेर्दा यस्तो देखियो अमेरिकी अर्थतन्त्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अमेरिकी अर्थतन्त्रको अवस्था अहिले त्यति राम्रो छैन । उपभोक्ता खर्चमा वृद्धि आउँदा पनि गत त्रैमासमा कुल ग्रास्थ उत्पादन पहिलेको तुलनामा खुम्चिँदै गएको छ । यसैगरी मुद्रास्फीति दर ५० वर्ष यताकै उच्च छ । मानिसहरुले गर्ने बचतमा कटौती आउँदा तरलता अभावको समस्या बढेको छ ।

मूल्य वृद्धि नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंकले औसत ब्याज दर बढाउँदा आर्थिक क्रियाकलापमा कमी आएको छ । यी तथ्यहरुलाई केलाउँदा सन् २०२२ मा अमेरिकामा आर्थिक मन्दी हुने सम्भावना बढेको छ । यससँगै तल वर्णन गरिएका ९ तथ्यहरुले अमेरिका आर्थिक मन्दीको बाटोमा गएको निश्चित गरेको छ ।

लगानीकर्ताहरुको पोर्टफोलियोमा आएको निरन्तर गिरावट

अमेरिकी धितोपत्र बजार सूचक नास्डाक गत वर्षको तुलनामा ३० प्रतिशतले घटेको छ । कोभिड–१९ महामारीको समयमा मौलाएको पेलोटोन, जुम लगायतका कम्पनीको सेयर कोभिड–१९ संक्रमण कम भएपछि दोब्बर भन्दा धेरैले घटेको छ । यसैगरी हेज फन्डको सहायतामा बढेको आर्क, टाइगर ग्लोबल लगायतका कम्पनीको सेयर मूल्य क्रयास भएका छन् ।

केही मानिसहरुले स्टक मार्केट अर्थतन्त्रमा पर्दैन भनेता पनि अर्थतन्त्र विश्लेषण गर्ने प्रभावकारी माध्यम सेयर मार्केट बनेको छ । यसै गरी स्वास्थ्य सेवा क्षेत्रलाई पनि अर्थतन्त्र नमान्ने गरेका छन् । तर गत त्रैमासमा सेयर मार्केट र स्वास्थ्य सेवामा गरिने लगानी ३० प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ । यसैगरी सेयर मूल्यमा आएको कमीका कारण मानिसहरुले लगानी तथा खर्च गर्न कम गर्ने हुँदा आर्थिक गतिविधि कम हुन गई आर्थिक गतिविधि खुम्चिने भएको छ ।

आकाशिएको क्रिप्टो पाताल पस्दै

कोभिडको समयमा अमेरिकी केन्द्रीय बैंकले औसत ब्याजदर शून्य प्रतिशत बनाएपछि सहज पूँजी निर्माण हुँदा क्रिप्टो मार्केटले रकेटको गति समातेको थियो । त्यसैबीचमा कोभिड–१९ संक्रमण कम हुँदै जाँदा फेडरल रिजर्भले औसत ब्याजदर बढाउने निर्णय गरेपछि क्रिप्टोमार्केटमा गिरावट आएको छ ।

हालै फेडरल रिजर्भले बढाएको ब्याजदरले लगानीकर्ताहरु प्यानिक भएका छन् । प्यानिक भएका लगानीकर्ताहरुले व्यापक सेल अफ गर्दा करिब २०० अर्ब डलर भन्दा धेरैले क्रिप्टोमार्केटको आकार नै घटेको छ । यसैगरी क्रिप्टोकरेन्सीमा आएको कमीले मात्रै आर्थिक मन्दी निम्त्याउने होइन तर अहिलेको समयमा अरु सूचाङ्क पनि कमजोर भएका कारण आर्थिक मन्दी आउन सक्ने निश्चित छ ।

उच्च मुद्रास्फीति

मुद्रास्फीतिलाई लिएर यस हप्ता फरक तथ्याङ्क आएको छ । वालस्ट्रीट जर्नलले मूल्यवृद्धिमा कमी आएको जनाएको छ । यसैगरी न्यूवर्क टाइम्समा प्रकाशित समाचारमा मुद्रास्फीति बढेको र ४० वर्ष यताकै उच्च भएको जनाएको छ । कसलाई सही भन्ने  दुबै सही छन् । मूल्य वृद्धिमा क्रमिक रुपमा कमी आउँदै गएको छ भने इन्धन तथा खाद्यान्नको मूल्य अझै पनि उच्च रहेको छ ।

कोभिडको समयमा भन्दा मानिसहरु अहिले गरिबीको रेखा मुनि पर्दै गएको

वर्तमान अवस्थामा बेरोजगारी दरमा कमी आएको छ भने श्रम बजारमा अहिले प्रशस्त रोजगारीका अवसरहरु पनि उपलब्ध छन् । यसको अर्थ कामदारहरूले मनग्य पैसा कमाउन जागिर छोड्न र नयाँ जागिर गर्न सक्छन् । यो राम्रो अवस्था हो । तर मुद्रास्फीति हरेक महिना बढ्दै गएको छ । यसको अर्थ मुद्रास्फीति–समायोजित, तलब वास्तवमा घट्दै गएको छ । एटलान्टा फेडरल रिजर्भले मुद्रास्फीति बढ्दै जाँदा तलब वृद्धि स्तर बन्द हुँदै गएको बताएको छ ।

बचत घट्दै र ऋण बढ्दै

सन् २०२० देखि २०२१ मा अमेरिकी सरकारले कोभिड प्रभावित नागरिकहरुको लागि हजारौं हजार डलर राहत बाँडेको थियो । आर्थिक गतिविधि कम भएता पनि उक्त समयमा बचत दर ६० वर्ष यताकै उच्च भएको थियो । तर अहिले अवस्था फरक छ ।

अमेरिकी नागरिकहरुले खर्चमा वृद्धि गर्दा व्यक्तिगत बचत दरमा सन् २०१० यताकै कमी आएको छ । अर्थतन्त्र अस्थीर भइरहेको समयमा बचत दरमा कमी आउनु, मुद्रास्फीति बढ्दै जानु, फेडरल रिजर्भले औसत ब्याजदर बढाउँदै जानु र उपभोक्ता ऋण दरले नयाँ रेकर्ड कायम गर्दै जानुले आर्थिक मन्दी संकेत गरेको छ ।

फेडरल रिजर्भले बढाएको औसत ब्याजदरका कारण उत्पन्न समस्याहरु

अमेरिकाको अहिलेको मुद्रास्फीति दर ८ प्रतिशतको नजिक रहेको छ । तर फेडरल रिजर्भले मुद्रास्फीति दर घटाएर २ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ ।

फेडरल रिजर्भको मुद्रास्फीति नियन्त्रण गर्ने नीति सिद्धान्तगत रुपले प्रभावकारी तर व्यवहारिक रुपमा कमजोर सावित भएको छ । फेडले औसत ब्याजदर बढाएर घर, सम्पत्ति तथा बिजनेस लोनको दर वृद्धि गर्ने र यसअघि घर, सम्पत्ति तथा बिजनेसमा गरिने लगानी घटाएर आर्थिक क्रियाकलाप कम गर्ने नीति अघि सारेको छ । मुद्रास्फीति नियन्त्रण गर्ने क्रममा फेडले आर्थिक क्रियाकलापबाट प्राप्त हुन सक्ने खबौं डलर गुमाउन सक्ने छ ।

चीनको अस्तव्यस्तता

सन् २०२२ मा विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीन कोभिड–१९को ओमिक्रोन भेरियन्टको शिकार हुन पुगेको छ । यसैक्रममा चीनको कोभिड सम्बन्धी शून्य सहिष्णुता नीतिका कारण मुख्य औद्योगिक सहरमा लकडाउन भएको छ । जसकारण आर्थिक क्रियाकलापहरुले गति लन सकेका छैन । यसका साथै चीनले घर जग्गामा गर्ने लगानीमा प्रतिबन्ध, व्यापारिक घाटा र बढ्दो आर्थिक क्रियाकलापमा गिरावट भोग्नु पर्दा विश्व अर्थतन्त्रमा थप आर्थिक समस्या आइपरेको छ ।

अमेरिकाको व्यापारिक सम्झौता भएको चीनमा आएको आर्थिक अस्थिरताका कारण आर्थिक गतिविधि अघि बढाउन थप समस्या देखिएको छ ।

युरोपमा उत्पन्न आर्थिक मन्दी

युरोपको मुद्रास्फीति दर १० प्रतिशत भन्दा धेरै रहेको छ । रुस युक्रेन युद्धका कारण युरोपिय मुलुकहरुको अर्थतन्त्रको आकार पनि खुम्चिएको छ । पूर्वी यूरोपमा भएको युद्धका कारण इन्धन र खाद्यान्नको मूल्य वृद्धि हुँदा मुद्रास्फीति दर बढेको छ । अर्थशास्त्रीहरुको आंकलनमा युरोपमा आर्थिक अस्थिरता र मूल्य वृद्धि दर बढ्दै गएको अनुमान गरिएको छ । युरोपको अर्थतन्त्र खुम्चिनु, चीन लकडाउनमा जानुले अमेरिकाको कुल ग्रास्थ उत्पादन वृद्धिमा कमी आउने छ ।

कोभिड संक्रमण कायमै

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणको अन्त्य अझै हुन सकेको छैन । नयाँ भेरियन्टको उत्पत्तिसँगै कोरोना पूर्ण रुपमा निर्मूल हुने सम्भावना निकै न्यून छ । मानिसहरु कोभिड पछिको सामान्य जीवनमा फर्किँदै गरेपनि कोभिड अघिको समयमा पुग्न अझै समय लाग्ने विश्लेषकहरुले जनाएका छन् ।

(डेरेक थोमसनको दी एटलान्टीक डटकममा प्रकाशित लेखको अनुवादित अंश)