के एआईको बढ्दो प्रयोगले बैंकिङ्ग क्षेत्र ‘रिसेपिङ’ हुँदैछ ?

के एआईको बढ्दो प्रयोगले बैंकिङ्ग क्षेत्र ‘रिसेपिङ’ हुँदैछ ?


काठमाडौं – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले अन्य क्षेत्रमा जस्तै बैंकिङ्ग क्षेत्रमा समेत आफ्नो पकड जमाउन थालेको छ । विश्वबजार एआईमा केन्द्रीत बनेर नयाँ–नयाँ आविष्कार गरिरहँदा बैंकिङ्ग क्षेत्र यसबाट अछुतो रहने कुरै भएन । बैंकिङ्ग क्षेत्रले एआईलाई अवलम्बन गर्दा परम्परागत शैलीमा हुने बैंकिङ्ग कारोबारले समेत नयाँ रुप लिन थालेको छ ।

एआईको प्रयोगले बैंकहरुले गर्ने आर्थिक कारोबारलाई छिटो छरितो बनाउन थालेको छ । यस्तै एआईले ‘डाटा ड्रिभन’लाई उन्नत बनाइरहेको छ भने सेवाग्राहीलाई दिइने सेवामा चुस्तता ल्याउन थालेको छ । एआईको प्रयोगसँगै सेवाग्राहीलाई दिने सेवा, तथ्यांक संकलन र कामकारबाही प्रवाह अहिलेसम्मकै अत्याधुनिक बन्न थालेको हो । सोहीकारण सन् २०२३ मा बैंकिङ्ग क्षेत्रको एआईमा ६७ बिलियन अमेरिकी डलरको लगानी भएको थियो ।

‘जेनेरेटिभ एआई’ले बैंकिङ्ग क्षेत्रको उत्पादकत्वलाई कम्तिमा ५ प्रतिशतसम्म बढाउने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। यसबाट विश्वव्यापीरुपमा बैंकिङ्ग क्षेत्रको ३०० बिलियन अमेरिकी डलरसम्म घट्ने प्रतिवेदन सन् २०२३ मा सार्वजनिक भएको ‘एमसीकिन्से बैंकिङ्ग रिपोर्ट’मा उल्लेख छ । तर, यो बैंकिङ्ग क्षेत्रमा एआई छिरेपछि घट्ने लागतको आधा पनि नभएको समेत रिपोर्टमा लेखिएको थियो ।

बैंकिङ्ग क्षेत्रमा एआई क्रान्ति

सुरुमा एआईलाई बैंकहरुले कार्य क्षमता विस्तार र तथ्यांक केलाउने काममा प्रयोग सुरु भएको थियो । तर यतिबेला एआईको कार्यक्षेत्र बढेर बैंकको जोखिम व्यवस्थापनदेखि ठगिनबाट जोगिन समेत प्रयोग हुन थालेको छ । अन्तर्राष्ट्रियस्तरमा बैंकहरुले बैंकहरुले एआईलाई अवलम्बन गर्न थालेपछि ठूला–ठूला तथ्यांकलाई समेत सहजै केलाउने र विश्लेषण हुन थालेको हो । जसले सञ्चालनको रणनीति नै बदल्न सहयोगी भूमिका खेल्न थालेको छ ।

सोहीकारण नेपाल राष्ट्र बैंकले समेत चालू वर्षको मौद्रिक नीतिमा एआईको नीति बनाउने घोषणा गरेको थियो । सदियौंदेखि परम्परागत शैलीमा चलेका बैंक वित्तीय संस्थामा परम्परागत शैलीकै व्यवस्थापन, जोखिम व्यवस्थापन र सेवाग्राहीलाई दिने सेवाको तरिका छ । तर यी क्षेत्रमा मानवीय संलग्नताले कहीँकतै बिगार्ने सम्भावना हुन्छ र एआईलेजस्तो छिटोछरितो सेवाग्राहीलाई सन्तुष्ट बनाउन सम्भवन नहुने फोब्र्स उल्लेख गर्छ ।

सेवाग्राहीको सन्तुष्टी थपिँदै

बैंक तथा वित्तीय संस्था मूख्यगरी सेवाग्राहीसँग जोडिएको व्यवसाय हो । ‘बिजनेश टू बिजनेश’देखि ‘बिजनेश टू कस्टमर’ व्यवसायमा बैंक जोडिएका हुन्छन् । यीनिहरुले सर्वसाधारणको पैसा संकलन गर्छन् र त्यसैबाट पैसा कमाउँदै नाफा सृजना गर्छन् । यसकारण बैंकहरुले आफ्नो सम्पूर्ण ध्यान सेवाग्राहीलाई सन्तुष्टी दिनतर्फ केन्द्रीत गर्नुपर्छ ।

यसका लागि एआई प्रवर्द्धित ‘च्याटबोट’ सुरु गरेको धेरै भइसक्यो । यस्तै बैंकहरुले एआईको माध्यमबाट उन्नत प्रकारको विश्लेषण क्षमता विकास गरेका छन्, जसले सेवाग्राहीसँगको अन्तरक्रियालाई ‘नेक्सट लेभल’मा पुर्याएको छ । विश्वका बैंकहरुले च्याटबोट सुरु गरेपछि नेपालका बैंकले समेत आफ्नो वेभसाइट र सामाजिक सञ्जालको पेजमा च्याटबोटको सुरुवात गरिसकेका छन् ।

विगतमा कल्पना नै नगरिएको सेवासुविधा थप भएपछि बैंकको लागत घट्नुको साथै सेवाग्राहीको सन्तुष्टीको तह बढ्नु स्वभाविक नै हो । एआईबाट प्रवर्द्धित च्याटबोटले २४/७ सेवा दिन्छ । जसमा सेवाग्राहीलाई सहयोग गर्दै प्रतिक्षाको समय घटाउनुका साथै उनीहरुको सन्तुष्टीलाई प्रवर्द्धन  गर्ने गरेको बैंक अफ अमेरिकाको उदाहरणले देखाउँछ । यही कारण सन् २०३० सम्म बैंकिङ्ग क्षेत्रमा एआईको बजार ६४ बिलियनभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ ।

सेवाग्राहीको तथ्यांक केलाउँदै एआई

एआईको प्रयोगमार्फत बैंकहरुले सेवाग्राहीको तथ्यांक समेत केलाउन थालेका छन् । बैंकहरुले सेवाग्राहीको वित्तीय कारोबारको विगत र पछिल्ला गतिविधि केलाउन सहजीकरण गर्छन् । उदाहरणका लागि नेपालमा कोरोना महामारीयता भएको बैंकविरुद्धको आन्दोलनमा र त्यसताका बैंकको ऋण नतिर्ने भन्दै आन्दोलनमा सहभागी सेवग्राहीको पहिचान एआईले सहजीकरण गर्न सक्छ ।

यसबाहेक अन्य बैंकले बैंकमार्फत लिएको ऋणको इतिहास, विगतमा लिएको ऋणको सावा ब्याज भुक्तानीको स्थिती लगायत तथ्यांक एआईले स्वस्फूर्तरुपमा गर्न सक्छ । यसको उत्कृष्ट उदाहरणकारुपमा बेलायती मल्टिनेश्नल बैंक बार्कलेसले गरेको ‘फ्रड डिटेक्सन’लाई लिन सकिन्छ । सो बैंकको एआई प्रणालीले सेवाग्राहीको ठगि पत्ता लगाएको थियो र बैंकमा हुने सम्भावित ठगिबाट बचाएको थियो ।

यस्तै बैंक अफ अमेरिकाको एआई प्रवर्द्धित अनुसन्धान विश्लेषण प्लेटफर्मले समेत बैंकिङ्ग उद्योगबारे खोज गरेको थियो । सो प्रणालीले बैंक उद्योगको पछिल्ला गति, ‘ट्रेण्ड’ र सेवाग्राहीको चाहनाबारे अध्ययन गरेको थियो । जसले बैंकको लगानी प्रणालीलाई नै सुधारका लागि सहयोग गरेको बताइन्छ । तर नेपालमा भने विश्वबजारमा भइरहेको प्रयोगअनुरुप बैंकिङ्ग क्षेत्रमा एआईको प्रयोग भइसकेको छैन । यस्तै, नियामकीय निकायले समेत बल्ल एआईको नीति बनाउने तयारी थालेको घोषणा गरेको छ । – एजेन्सीहरुको सहयोगमा