गत साता बैंकहरुको निक्षेप १ अर्ब बढ्यो, कर्जा प्रवाह ४ अर्ब बढ्यो

गत साता बैंकहरुको निक्षेप १ अर्ब बढ्यो, कर्जा प्रवाह ४ अर्ब बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
गत साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ २९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आईपुग्दा पनि बैंकहरुको निक्षेप १ अर्बले बढेर ४३ खर्ब १२ अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाल मुद्राको निक्षेप ३ अर्ब बढेको छ भने विदेशी मुद्राको निक्षेप २ अर्ब घटेको छ । 

त्यस्तै यस अवधिमा कर्जा प्रवाह ४ अर्बले बढेको छ ।  माघ २९ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आईपुग्दा  बैंकहरुको कर्जा प्रवाह बढेर ४१ खर्ब ५९ अर्ब कायम भएको छ ।  

वाणिज्य बैंकहरुले फागुनको लागि ब्याजदर बढाएका छन्  ।  २ महिनासम्म ब्याजदर स्थित राखेका बैंकहरुले फागुनको लागि भने ब्याज बढाएका छन्  ।  बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिएका छन् । बाणिज्य बैंकहरुले ब्याज बढाएपछि विकास बैंक र फाइनान्सहरुले पनि फागुनको लागि ब्याज बढाएका छन्। 

उता  नेपाल राष्ट्र बैंकले तरलतामा चापको स्थिति कायमै रहने अवस्था देखिएको जनाएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८र७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा बिहिबार सार्वजनिक गर्दै  कर्जा विस्तारको ठूलो अंश आयाततर्फ केन्द्रित भई शोधनान्तर घाटा बढ्दो र विदेशी विनिमय सञ्चिति घट्दो क्रममा रहेसम्म तरलतामा चापको स्थिति कायमै रहने देखिएको जनाएको हो।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै वाह्य क्षेत्रतर्फ भुक्तानी सन्तुलन घाटामा गएको र साधन परिचालनको तुलनामा कर्जा माग उच्च रहेका कारण बैंकिङ्ग क्षेत्रको तरलतामा दबाब परेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च रहेकोले तरलता व्यवस्थापनमा दबाब परेको छ । तसर्थ, आन्तरिक एवम् वाह्य क्षेत्र सन्तुलन कायम राख्न सीमित वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा परिचालन गर्न जोड दिनुपर्ने आवश्यकता रहेको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत रु.३५१ अर्ब ७ करोड र स्थायी तरलता सुविधामार्फत रु.३०१५ अर्ब ८९ करोड गरी कुल रु.३३६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५  करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.२४१ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो ।

 समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६६ करोड ७४ लाख खुद खरिद गरी रु.८० अर्ब २६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२५१ अर्ब २ करोड तरलता प्रवाह गरिएको थियो । यसरी समीक्षा अवधिमा गत वर्षको सोही अवधिको तुलनामा अमेरिकी डलरको खरिद ६८.५ प्रतिशतले कमी आएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखेको छ।

वाह्य क्षेत्र र तरलतामा विद्यमान चापको स्थितिलाई दृष्टिगत गर्दै वाह्य क्षेत्र स्थायित्वसहित समष्टिगत आर्थिक स्थायित्व कायम राख्नेतर्फ मौद्रिक व्यवस्थापनलाई परिलक्षित गरिने राष्ट्र बैंकले जनाएको छ ।