काठमाडौं – विश्व ग्लोबल भिलेजबाट डिजिटल भिलेजमा प्रवेश गरिरहेको छ। नेपालका बैंक तथा वित्तीय संस्थाहरु कै कुरा गर्ने हो भने पनि डिजिटलमा धेरै अगाडी बढिसकेको अवस्था छ । हाल बैंकमा रकम जम्मा गर्न निकाल्न मात्रै नभई केवाईसी अपडेटदेखि बैंकको स्टेटमेन्टका साथै बैंक खाता विवरण नै पनि डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिन्छ। त्यति मात्रै होइन केही समय यता कतिपय बैंकहरुले त फोन लोन सेवा भनेर डिजिटल माध्यमबाट ऋण लगानी समेत गर्न थालिसकेको पाइन्छ ।
पछिल्लो चरण नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा डिजिटल प्रविधिको विकास तीव्र गतिमा भइरहेको पाइन्छ। बैंकहरुमा कोरोना महामारी पश्चात् डिजिटल प्रविधिको प्रयोग ह्वातै बढेको छ । यता नेपालको डिजिटल रुपान्तरणका लागि भन्दै विश्व बैंकले नै पनि धेरै सहयोग गरिरहेको छ। विश्व बैंकले गत वर्ष डिजिटल नेपाल रुपान्तरणका लागि १४ करोड अमेरिकी डलर (करिब सवा १७ अर्ब रुपैयाँ) ऋण सहायता पनि स्वीकृति गरेको थियो।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेसन (डीएनएन) परियोजनाका लागि उक्त रकम बराबरको ऋण सहायता स्वीकृत गरेको हो भने सो सहायता ब्रोड ब्याण्डको पहुँच विस्तार र डिजिटल अर्थतन्त्रमा सहभागिता वृद्धि गर्न खर्च गरिने भएको थियो ।
नेपालले डिजिटलमा राम्रै फड्को मारिरहेको समयमा नबिल बैंकले सबैभन्दा पहिले फोन लोन सेवा अर्थात् डिजिटल लोनको सुरुवात गरेको हो । नबिल बैंकबाट सुरु भएको फोन लोन सेवा कुमारी, एभरेष्ट, एनआईसी एशिया, प्रभु, माछापुच्छ्रे, सिटिजन्स, कृषि विकास हुँदै हालसम्म ११ वटा वाणिज्य बैंकले सो सेवामार्फत कर्जा दिइरहेका छन्। बैंकहरुले तलब लिने कर्मचारीहरुको ६ महिनाको तलबको आधारमा १ लाखसम्म र कतिपयले २ लाखसम्म पनि ऋण लगानी गर्दै आएका छन्। हालसम्मको डेटालाई नियाल्ने हो भने पनि फोन लोनबाट २ अर्ब ८७ करोड रुपैयाँ लगानी भइसकेको अवस्था छ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनोज ज्ञवाली फोन लोन सेवा प्रभावकारी भइरहेको बताउँछन् ।त्यस्तै, फोन लोनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर शर्माले डिजिटल ऋण प्रवाह गर्न एक राम्रो सुरुवात फोन लोनले गरेको बताए। उनले बैंकहरुको सहजतालाई मध्यनजर गर्दै फोन लोन सेवा सुचारु गरेको उल्लेख गरे । ‘हाम्रो उदेश्य भनेको जतिसक्दो चाडो, सजिलो र चाहिएको समयमा नै ऋण पाउनुपर्छ भन्ने हो।’ उनले भने, ‘यो ऋण बिना धितो प्रवाह हुँने हुँदा जोखिम बढि हुँने हुन्छ त्यसैले सर्वसाधरणलाई एकैपटक दिन सक्ने अवस्था पक्कै पनि हुँदैन ।’
सम्भव छ डिजिटल ऋण ?
नेपालका बैंक तथा वित्तीय संस्थाले हाल अधिकांश कामहरु डिजिटल नै गर्दै आइरहेका छन्। अधिकांश कामहरु बैंकमा भौतिक रुपमा उपस्थित बिना नै गर्न सकिने अवस्था आएको समयमा डिजिटल ऋणको विषय उठ्नु सामान्य हो। नेपालको लागि डिजिटल ऋणमा अवसर र चुनौती दुवै रहेको विज्ञहरुको बुझाई छ। नेपालमा कतिपय व्यक्ति अझै पनि डिजिटल कारोबार गर्न नसक्ने अवस्थामा भएका कारण चुनौती भएको र डिजिटलबाटै कारोबार गर्न सक्नेलाई समयदेखि हरेक कुराको सहज हुने भएकाले विज्ञहरू यसलाई अवसर र चुनौती दुवै मान्छन् ।
डिसीईओ ज्ञवालीले बैंकरहरुले हरेक कुरा डिजिटलबाट चलोस् भन्ने सोच बनाइरहेको बताए। ‘हामी भविष्य त सबै कुरामा डिजिटल सोच्छौ तर सबै कुरा त डिजिटल गर्दा सेक्युरिटिका कुराहरु आउँछन् । त्यसैले एप्लीकेसनसम्म त डिजिटल लिन सकिएला तर ऋणको सबै कुराहरु स्विकृत गर्न डिजिटल रुपमा जाँदा धेरै समय लाग्छ’ उनले भने ।
यता नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका विभागीय प्रमुख रामु पौडेल भने असम्भव केही नरहेको भन्दै डिजिटल ऋण प्रवाह गर्न सकिने बताउँछन्। उनले आगामी दिनमा सिस्टम, सफ्टवेयर र त्यसको जोखिम व्यवस्थापनका विषय पनि अनुगमन गर्दै जाने हो भने डिजिटल ऋण प्रवाह गर्न सकिने बताए । उनले हाल सानो रकमको कर्जाबाट सुरु भएको भन्दै भविष्यमा निश्चित रुपमा गर्न सकिने बताए। ‘सबै लगानी डिजिटल नै गर्न सकिन्छ भन्दा नहोला हाम्रोमा कतिपय अनलाईन सेवामा हुनुहुन्छ त कति हुनुहुन्न, कतिले अनलाइन निवेदन दिन सक्ने हुनुहुन्छ कति हुनुहुन्न ।’ पौडेलले भने,‘ कर्जा दिने बैंक र लिने व्यक्ति इच्छुक हुन्छन् भने राष्ट्र बैंकले पनि प्रोत्साहन गर्ने ठाउँमा गरि नै हाल्छ ।’ उनले सेवा प्रदान गर्न र लिन तयार हुने हो भने त्यहि किसिमका इन्फास्ट्रक्चर तयार हुने बताए।
प्रतिक्रिया