नेपालमा विदेशी नागरिकले कार्डबाट काराेबार गर्न सक्ने वातावरण लगभग बनिसकेको छ : कार्यकारी निर्देशक पौडेल

नेपालमा विदेशी नागरिकले कार्डबाट काराेबार गर्न सक्ने वातावरण लगभग बनिसकेको छ : कार्यकारी निर्देशक पौडेल


काठमाडौं – नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नेपालमा विदेशी नागरिकले कार्डबाट काम चलाउन सक्ने वातावरण लगभग बनिसकेको बताएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाको लागि अन्तरक्रिया कार्यक्रममा उठेका मुद्रासम्बन्धी अस्पष्टताका सवालमा आफ्नो विचार राख्दै नेपालका बैंकहरूले जारी गरेका विदेशी मुद्राका कार्डहरू संसारका सबैजसो देशमा स्वीकारयोग्य भैइसकेको बताएका हुन्।

साथै, कार्यकारी निर्देशक पौडेलले अब छिट्टै नागरिक तहमा समेत कारोबार गर्न सकिने गरी गृहकार्य भइरहेको बताए। पौडेलले मुद्रा सम्बन्धी अस्पष्टता चिर्न बुँदागत जानकारी पनि दिएका छन् ।

यस्ता छन् कार्यकारी निर्देशक पौडेलले दिएका बुँदागत जानकारी :

  • विदेश जाँदा नेपाली नोट (नेरू) जति पनि बोकी हिँडन मिल्दैन । त्यसो त नेपाली रुपैयाँ अन्य देशमा कारोबारका लागि वैद्य पनि छैन । तथापि कहिलेकाहीँ विदेशमा कसैलाई उपहार (नेपाली नोटहरू संसारका राम्रा नोटहरू मध्ये पनि पर्छन्) दिनु पर्ने हुन सक्छ, यात्राबाट फर्कँदा नेपालमै गाडी, ट्याक्सी भाडा चाहिएला कि भनेर केही नोट बोकी हिँड्ने चलन पनि छ । हो यिनै विषयलाई मनन गरेर नेपाली रूपैयाँ  या पाँच हजारसम्म मात्र विदेश जाँदा साथमा लैजान मिल्छ । यो भन्दा बढी नेपाली रूपैयाँका नोट बोकेर विदेश हिँड्नु गैर कानूनी हो ।
  • नेपाली नागरिकले विदेश भ्रमणका लागि एक वर्षमा प्रति पटक अमेरिकी डलर २५०० वा सो बराबरको अन्य कुनै पनि परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा पाइन्छ । यस्तो सुविधा एक वर्षमा २ पटक पाइन्छ । नेपालमा विदेशी मुद्रामै खाता भएका वा विदेशी मुद्राको कार्ड भएकाले विदेशी मुद्राको अलि बढी सुविधा पनि प्रयोग गर्न सक्छन् ।
  • परिवर्त्य विदेशी मुद्रा भन्नाले नेपालको सन्दर्भमा नेपाल राष्ट्र बैंकले खरिद दर र बिक्री दर खुलाइ नेपालका वाणिज्य बैंकले सटही गर्न सकिने व्यवस्था गरेको विदेशी मुद्रालाई बुझिन्छ । अहिले अमेरिकी डलर, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, जापनिज येन, चाइनिज युवान लगायत २० वटा परिवर्त्य विदेशी मुद्रा छन् । भारतीय रूपैयाँहरू विदेशी मुद्रा हुन तर परिवर्त्य विदेशी मुद्रा होइनन् ।
  • भारतबाट नेपाल आउँदा भा.रु. १०० दरका नोटभन्दा ठूला नोट बोकेर ल्याउनु, कारोबार गर्नु गैर कानूनी हो । भा.रू. १०० सम्मका नोट लिई आउन कुनै सीमा छैन तर श्रोत भने खुल्नु पर्छ । नेपालबाट भारत घुमफिर गर्न जाँदा साथमा भा.रु.१०० सम्मका २५ हजारसम्म र उपचार गर्न जाँदा भा.रु. ५० हजार नगदै लैजान सकिन्छ । भारतमा उपचार गराउँदाको अस्पतालको बिल, होटेलको बिल, औषधि किन्दा फर्मास्टीकलको बिल बमोजिमकै रकम नेपालका बैंकले जारी गरेको कार्ड (डेबिट तथा क्रेडिट) बाटै तिर्न सकिन्छ ।
  • विदेश (भारतबाहेक) बाट नेपाल आउँदा अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य कुनै पनि परिवर्त्य विदेशी मुद्रा साथमा सजिलै ल्याउन सकिन्छ । ५ हजार डलरभन्दा बढी ल्याउन पनि सकिन्छ तर अनिवार्य रूपमा नेपालको भन्सारमा स्वघोषणा गराउनु पर्दछ । भन्सार स्वघोषणा फाराम भन्सारमा सजिलै पाइन्छ ।
  • नेपालमा संसारकै ठुला भनिएका Bank Card Issuer ले जारी गरेका कार्डहरू जस्तै Visa, Mastercard, Amex, Discover, UnionPay, JCB का कार्डहरू स्वीकार हुन्छन् । नेपालमा अब कोही पनि विदेशी नागरिक नगद डलर बोकी नआउँदा पनि कार्डबाट काम चल्ने वातावरण लगभग बनिसकेको छ ।
  • नेपालका बैंकहरूले जारी गरेका विदेशी मुद्राका कार्डहरू संसारका सबैजसो देशमा स्वीकारयोग्य भैसकेका छन् । अब छिट्टै नागरिक तहमा समेत Issuing and Acquiring Level मा कारोबार गर्न सकिने गरी गृहकार्य भइरहेको छ ।