बैंकले तेस्रो पक्षमार्फत प्रवाह गर्ने सेवाको शुल्कमा यस्तो छ प्रावधान

बैंकले तेस्रो पक्षमार्फत प्रवाह गर्ने सेवाको शुल्कमा यस्तो छ प्रावधान


काठमाडौं– बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्ने क्रममा केही सेवा अन्य संस्था वा निकायमार्फत पनि लिनुपर्ने हुन्छ। त्यसका लागि ग्राहकबाट लिन सकिने शुल्कबारे नेपाल राष्ट्र बैंकले प्रावधान तोकिएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले मंगलबार अर्थात आज वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै तेस्रो पक्षमार्फत प्रवाह हुने सेवाको शुल्कको बारेमा जानकारी गराएको हो ।

राष्ट्र बैंकले उदाहरणका लागि कर्जा सूचना, कालोसूचीसम्बन्धी सेवा, धितो मूल्याङ्कन, बीमा, इलेक्ट्रोनिक चेक क्लियरिङ आदि। यस्ता सेवा बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षमार्फत उपलब्ध गराउँदा सो सेवाबापत त्यस्ता संस्था वा निकायलाई भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी हुनेगरी आफ्ना ग्राहकबाट सेवा शुल्क असुल गर्न नपाइने व्यवस्था रहेको जनाएको छ।

त्यस्तै, २ लाख रूपैयाँभन्दा कम रकमको चेक क्लियरिङ कारोबारमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनै किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले वित्तीय सेवाका शुल्कबारे जानकार भएर मात्रै वित्तीय कारोबार गर्न आग्रह पनि गरेको छ।